सानदार जितसँगै डेनमार्क क्वाटरफाइनलमा

फरवार्ड कास्पर डोलबर्गको दुई गोलमा डेनमार्कले युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ को पहिलो खेलमा वेल्सलाई पराजित गरेको छ । डेनमार्क ४-० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

डेनर्माकलाई जीत दिलाउन कास्पर डोल्बर्गले दुई गोल गरे । त्यस्तै, जोआकिम माहले तथा मार्टिन ब्राथवेटले एक-एक गोल गरे । निकै प्रतिस्पर्धात्मक पहिलो हाफको २७ औँ मिनेटमा डोल्बर्गले डेनर्माकलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारलाई गोलरक्षक ड्यानी वार्डले डाइभ दिएपनि जोगाउन सकेनन् ।

दोस्रो हाफको सुरुवातमा नै उनले डेनमार्कको अग्रता दोब्बर बनाए । ४८ औं मिनेटमा ब्रेथवेटले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको लो क्रसमा नेको विलियम्सले खराब क्लिअरेन्स सिधै डोलबर्गको खुट्टामा पुगेको थियो । उनले ६ यार्ड बक्सबाट सहजै गोलरक्षक वार्डलाई बिट गर्दै व्यक्तिगत दोस्रो गोल गरे ।

८७ औँ मिनेटमा माहालेले अर्को गोल थपे । खेलको अन्त्यमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सिमित बन्यो । यसको फाइदा उठाउँदै ब्राथवेटले इन्जुरी समयमा अर्को गोल थपे ।

डेनमार्कले अब क्वाटरफाइनलमा आइतबार ९:४५ बजे हुने चेक रिपब्लिक र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार