अत्यावश्यक बाहेक अन्य राहदानी नवीकरण नगर्न नगराउन विभागको निर्देशन

सेप्टेम्बरदेखि इ-पासपोर्ट पाइने

राहदानी विभागले अत्यावश्यक बाहेक अन्य राहदानी तत्काल नवीकरण नगर्न नगराउन निर्देशन दिएको छ । विभागले बुधवार एक सूचना जारी गर्दै निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी जारी हुने हुँदा अत्यावश्यक भएको अवस्थामा बाहेक राहदानी बनाएर घरमा राख्नको लागि मात्र हालको मेशिन रिडेबल राहदानी (एमआरपी) नबनाउन निर्देशन दिएको हो ।

धेरै सेवाग्राही तत्काल विदेश जान आवश्यक नपरे पनि राहदानीका म्याद सकिन लागेको भन्दै नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय र राहदानी विभाग धाइरहेका बेला विभागले यस्तो परिपत्र गरेको हो ।

चालक अनुमति पत्र जस्तै म्याद नसकिँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभई नयाँ नै बनाउनुपर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको जुनसुकै बखत बनाउने सकिने भएकाले तत्काल नवीकरण गर्न जरुरी नभएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता राजेन्द्र पाण्डेका अनुसार सरकारले आउने सेप्टेम्बरदेखि इ-पासपोर्टको दिने भएको छ । इ-पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको उनले बताए । उनका अनुसार इ-पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ । उसले त्रिपुरेश्वरमा मेसिन राखेर पासपोर्ट छाप्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार