किन दिँदै छन् ३ हजारभन्दा बढी प्राविधिकहरूले एकैपटक राजीनामा ?

राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत ३ हजारभन्दा बढी प्राविधिकहरूले शुक्रवार सिंहदरबार घेराऊ गर्ने भएका छन् । उनीहरुले प्लेकार्ड र ब्यानरसहित सिंहदरबार घेराऊ गरी संयुक्त रूपमा राजीनामा बुझाउने जानकारी दिएका हुन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले ३ हजार बढी प्राविधिकहरूले सिंहदरबार घेराऊ गरी राजीनामा बुझाउने जानकारी दिएको हो ।
समितिका अध्यक्ष अविनाश अमरले सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण वञ्चित गराइएको भन्दै राजीनामा दिन बाध्य भएको बताए  ।
समितिले आन्दोलनका विभिन्न कार्यक्रम समेत घोषणा गरेको छ । जसअनुसार भोलि राजीनामा दिने कार्यक्रम रहेको छ । ३२ जिल्ला अन्तर्गतका सम्पूर्ण प्राविधिकहरूको राजीनामा केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा दिने भएका हुन् । अध्यक्ष अमरले यसअघि ४ हजार प्राविधिकहरूले एकमुस्ट राजीनामा उद्घोष गरेपछि मात्र सम्पूर्ण माग पुरा भएको स्मरण गर्दै फेरी पनि आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको बताएका छन् ।
नेपाल एसोसिएसन बाग्मती प्रदेशका सभापति नन्द बन्जाडेले पुनर्निर्माण महाअभियानलाई सकाउनु पूर्व नै बेरोजगार बनाउने षड्यन्त्रको भर्त्सना गर्दै हामी बाध्य भएर आन्दोलन गर्न परेको गुनासो गरे ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार