ओली सरकारविरुद्ध पाँच विद्यार्थी संगठनले संयुक्त आन्दोलन गर्दै

विपक्षी गठबन्धनमा आवद्ध प्रमुख पाँच विद्यार्थी संगठनले आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमको विरोध गर्दै उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम गर्दै विरोध प्रर्दशन गर्न लागेका हुन् ।

सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले विरोध प्रदर्शनमा उत्रिन लागेको विद्यार्थी संगठनका नेताहरुको भनाइ छ ।

उनीहरूले प्रधानमन्त्रीका हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यबाट च्यूत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । प्रधानमन्त्रीले नेपाली जनताको त्याग,बलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानलाई तहसनहस बनाउने कार्य गर्दै आएको विद्यार्थी संगठनले ठहर गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार