क्लबहाउसमा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी नक्कली प्रोफाइल बनाउने भक्तपुरस्थित चाँगुनारायण नगरपालिका ६ खरिबोटका २० वर्षीय ईसान लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । क्लब हाउसमा सोसियल र खुला रुम बनाएर प्रहरी अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गरेको अभियोगमा उनलाई साइबर ब्युरोले समातेको हो ।

ब्युरोका एसएसपी नविन्द अर्यालले प्रहरी अधिकारीको फोटो दुरुपयोग नगरिदिन पनि आग्रह गरेका छन् । पछिल्लो समय क्लबहाउसका प्रयोगकर्ता नेपालमा ह्वात्तै बढेका छन् । योसँगै यसमा विकृति पनि मौलाएको छ । फेक आईडी बनाएर गलत सूचना प्रवाह हुन थालेपछि प्रहरीले नजर बढाएको छ ।

पक्राउ परेका लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । अदालतबाट सात दिन म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार