ज्वाला संग्रौलासहित तीनजना प्रहरी हिरासतमा

आफूलाई सामाजिक अभियन्ता दावी गर्ने ज्वाला संग्रौलासहित तीन जनालाई पक्राउ गरी हिरासतमा लिएको छ ।

संग्रौलासहित उनका श्रीमान हिमाल उपाध्याय र शर्मिला वाइवालाई प्रहरीले आइतबार हिरासतमा राखेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीन जनालाई हिरासतमा लिएको हो ।

संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ । झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार