सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा भएन फैसला, किशोरीको जन्मदर्ताको सक्कल फाइल मगाउन आदेश

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले गौशाला २६ को जन्मदर्ताको सक्कलै फाइल मगाउन आदेश दिएको छ। जिल्ला अदालत काठमाडौं ले दुवै पक्षको बहस सुनसकेपछि सन्दीपविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी किशोरी गौशाला २६ को जन्मदर्ताको सक्कलै फाइल हेरिसकेपछि मात्रै यो मुद्दामा अन्तिम निर्णय दिने निर्णय लिएको हो।

यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाइ हुन नसकेको यो मुद्दा आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको थियो। यो प्रकरणमा यसअघि वडा कार्यालयले अदालतलाई जन्मदर्ताको प्रतिलिपिसहित जवाफ पठाएको थियो । तर यस पटक अदालतले उक्त जन्मदर्ताको सक्कलै फाइल मगाएको हो।

सन्दीप विरुद्ध १७ वर्षीया किशोरीले भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । उनले भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटेल ‘काठमाडौं इन’मा लगेर पटक पटक बलात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ ।

बलात्कार आरोप लागेपछि सन्दीपलाई गत असोज २० गते प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै नेपाल क्रिकेट संघ क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध बेरित निवेदन दिएका सन्दीप उच्च अदालतको आदेशपछि गत पुस २९ गते धरौटीमा रिहा भएका थिए ।

त्यसपछि क्यानले उनको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा समावेश गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार