रूपान्तरणको अभियानलाई दूर दराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

शनिवार लायन्स क्लब डिस्ट्रिक्ट ३२५ जेको महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘शहरकेन्द्रित शैक्षिक युवाहरूमा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति अभिरूचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्‍याउनसक्ने बिपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशी लगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ।’

सो अवसरमा प्रधानमन्त्रीले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पवद्ध रहेको पनि बताएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार