प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदै

इजलासमा बस्ने/नबस्नेबारे दुई न्यायाधीशले आदेश सुनाउने

प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदैछ । यसअघि लगातार दुई दिन स्थगित भएको सुनुवाई आजबाट सुरु हुन लागेको हो ।

संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा चढेको छ । यसअघि दुई दिन प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको थियो ।

सरकारको शिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा विघटन गरेपछि परेको रिटमा जेठ १४ गतेबाट सुनुवाई सुरु भएपनि विवादका कारण हालसम्म पनि बहस मूल विषयमा प्रवेश गर्न सकेको छैन ।

गत जेठ १४ गते प्रधानन्यायाधीस राणाले दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसी सहितको संवैधानिक इजलास गठन गरेका थिए । तर निवेदक पक्षले न्यायाधीस श्रेष्ठ र केसीमाथि प्रश्न उठाएपछि विवाद सुरु भएको थियो ।

न्यायाधीस केसीसहितको इजलासले नेकपा खारेज गरि एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइदिएका थिए भने श्रेष्ठले उक्त मुद्वामा पुनरावलोकन निस्सा दिन अस्वीकार गरेका थिए ।

विवादपछि प्रधानन्यायाधीस जबराले वरिष्ठताका आधार दोस्रो इजलास गठन गरेकोमा सरकार पक्षीय कानुन व्यवसायीहरुले विवाद निकालेपछि सुनुवाई अगाडि बढ्न नसकेको हो ।

नयाँ इजलासमा वरिष्ठ न्यायाधीस दीपककुमार काकी र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने सरकार पक्षीय माग रहेको छ ।

सर्वोच्च स्रोतका अनुसार बुधबारको इजलासमा सरकारी पक्षले प्रश्न उठाएका कार्की र भट्टराईले इजलासमा बस्ने कि नबस्ने भन्ने आदेश सुनाउने तयारी छ । उनीहरुको निर्णयको आधारमा संवैधानिक इजलासलाई निरन्तरता दिने वा पुनर्गठन गर्ने भन्ने तय हुन्छ ।

न्यायाधीशद्वय कार्की र भट्टराई इजलासमा बस्न इच्छुक देखिएनन् भने पुनः इजलास गठन गर्नुपर्ने भएकोले बुधबार पनि मुद्दा विषयवस्तुमा प्रवेश गर्ने सम्भावना छैन ।

आइतबार मात्रै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई समेटेर संवैधानिक इजलास पुनर्गठन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार