प्रभु बैंकको सीईओमा पुनः अशोक शेरचन

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सीईओको जिम्मेवारी दिएको हो । २ साताअघि सेञ्चुरी कमर्शियल बैंकलाई आफूमा समाहित गरेपछि अशोक तेस्रो कार्यकालका लागि सीईओ बनेका हुन । उनी २०७५ माघ १८ गते बैंकको सीईओ नियु्क्त भएका थिए ।

अशोकको नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति भएको हो ।शेरचनको व्यवस्थापकीय नेतृत्वमा बिग्रिएका बैंकहरुलाई लिएर प्रभु बैंकलाई प्रतिस्पर्धी र सबल बनाउन सफल भएका छन् ।

बैंकिंग क्षेत्रमा २८ बर्षको अनुभव भएका शेरचन यतिखेर सक्षम र सवल बैंकरको रुपमा स्थापित छन् । प्रभु फाइनान्सबाट शुरु भएको वित्तीय क्षेत्रको व्यवसाय यतिबेला प्रभु बैंकमा परिणत भएको छ । नेपालको बैंक तथा वित्तीय संस्था गाभ्नेमा प्रभु बैंक अग्रणी संस्थाको रुपमा स्थापित छ ।

समस्यामा फसेका, झण्डैझण्डै अस्तित्व नै सकिन लागेका संस्थालाई प्राण भरेर, नयाँ जीवन दिएर, ती संस्थाका लगानीकर्ता बचाउने संस्थाको रुपमा अग्रपंक्तिमा रहेको प्रभु बैंक अहिले उत्कृष्ठ बैंक बनेको छ । ।

२०७१ भदौ ३० गते तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो । सोही वर्ष कात्तिकमा सीईओ कुमार लम्सालले छाडेपछि कार्यवाहक सीईओको जिम्मेवारी अशोकले पाएका थिए ।

त्यही वर्ष माघ २९ मा प्रभुले ग्रान्ड बैंक नेपाललाई गाभेको थियो । त्यति मात्रै होइन प्रभुले खारेजीमा गएको नेपाल विकास बैंकलाई समेत आफूमा समाहित गरेको थियो । त्यसयता लगातार अशोक प्रभु बैंकको सीईओ छन् ।

सबल र सक्षम संस्थाको रुपमा चिनिएको किष्ट बैंक समस्यामा परेपछि प्रभु समूहले सम्हाल्न पुग्यो भने ग्रान्ड बैंक संकटग्रस्त भएपछि यसको जिम्मेबारी पनि प्रभु समूहले नै पायो । समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभेर ठूलो संस्था बनाउने अशोकको हुटहुटीले नै काम गरेको थियो ।

अस्तित्व नै रहने कि नरहने भन्ने अवस्थाबाट उठेर हाल प्रभु बैंकलाई उत्कृष्ट बैंक बनाउन सीईओ शेरचनको ठूलो हात छ । सेञ्चुरीलाई आफूमा समाहित गरेपछि प्रभु झनै ठूलो वाणिज्य बैंक भएको छ । मर्जपछि चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ । यस्तै रिजर्भको आकार बढेर ९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निक्षेप परिचालन बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार