कर्पोरेट सुपर सिक्सेसको उपाधि माछापुच्छ्रे बैंकलाई

काठमाडौं । माछापुच्छ्रे बैंकले कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक च्याम्पियन बनेको हो ।

एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलो पटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो । आईसीएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

माछापुच्छ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडे । निशेषले १४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । विभवको इनिङमा समान एक चौका र छक्का रह्यो । आईसीएफसी फाइनान्सको बलिङमा सुरज तिमल्सिना र सन्जोक गुरुङले समान एक विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन् ।

त्यसअघि आईसीएफसी फाइनान्सले निर्धारित पाँच ओभरमा एक विकेटको क्षतिमा ६५ रनको योगफल बनाएको थियो । आईसीएफसी फाइनान्सका लागि अरविन्द राणाले १३ बलमा ३१ रन र सुरज तिमल्सिनाले १३ बलमा १६ रन जोडे ।

अरविन्दको इनिङमा चार चौका र दुई छक्का थियो । माछापुच्छ्रेको बलिङमा कुनै पनि बलरले विकेट लिन सकेन । प्लेअर अफ दी फाइनल माछापुच्छ्रेका निशेष केसी चयन भए ।

यस सिजनको विजेता माछापुच्छ्रे र उपविजेता आईसीएफसी फाइनान्सले ट्रफी र गिफ्ट ह्याम्पर पाएका छन् । यस संस्करणको विजेता माछापुच्छ्रे बैंकले आगामी सिजनमा फ्रि इन्ट्री पाउने छ ।

प्लेयर अफ दी टुर्नामेन्टमा आईसीएफसी फाइनान्सका सुरज तिमल्सिना र बेस्ट ब्याट्सम्यान एनआइसी एसियाका अमर रावल घोषित हुँदै गिफ्ट ह्याम्पर पाए ।

त्यस्तै बेस्ट बलरमा आईसीएफसी फाइनान्सका सुरज तिमल्सिना, बेस्ट फिल्डरमा माछापुच्छ्रेका श्रीजन सुवेदी र बेस्ट विकेटकिपर माछापुच्छ्रेकै निशेष केसीले पनि गिफ्ट ह्याम्पर पाए ।

सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा एनआइसी एसियाका अमर रावल र फेयर प्ले अवार्ड प्राइम बैंकले प्राप्त गर्‍यो । प्रतियोगिताको बैंकिङ पार्टनर एनआइसी एसिया बैंक थियो ।

विजेतालाई एमाले नेता कर्ण थापा, हरिनारायण रौनियार, नेकोसका अध्यक्ष पर्शुराम बस्नेत, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र एसएस एभेन्ट्सका निर्देशक सुमित रौनियारले पुरस्कृत गरे ।

सन् २०१४ मा सुरु भएको कर्पोरेट सुपर सिक्सेसको सातौं सिजनमा मंगलबार क्वाटर फाइनल, सेमिफाइनल र फाइनल भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार