सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदैछन् ।

५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका १५ र संस्थापन पक्षमा ९ सदस्य छन् ।

ओली पक्षको प्रदेश कमिटीले भने विश्वासको मतको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको थियो । तर प्रदेश कमिटीको निर्देशनलाई उपेक्षा गर्दै संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको निर्णय अनुसार मतदान भएमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार सुरक्षित रहन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार