बैंकहरूको खराब कर्जा बढेपछि नाफामा प्रभाव, कुनको के भयो ?

६ वटा बैंकको नाफा घट्यो , कृषि विकास बैंक नोक्सानमा

बैंक तथा वित्तीय संस्थाहरुले दोस्रो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुको नाफा मिश्रित देखिएको छ । केहीको घटेको छ भने केहीको राम्रैसँग बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुको नाफालाई खराब ऋणले प्रभावित गरेको छ । बैंकको नाफा ११.२७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकहरुको नाफा २७ अर्ब ८ करोड १४ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

यो ६ महिनाको अवधिमा ६ वटा बैंकको नाफा घटेको छ भने कृषि विकास बैंकको नाफा ऋणात्मक बनेको छ । गत आवको पुस मसान्तमा १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंक चालु आवको सोही अवधिमा आइपुग्दा १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक बनेको छ ।  वित्तीय विवरण प्रकाशित गरेकामध्ये १२ वाणिज्य बैंकको खराब कर्जा न्यूनतम २.२४ प्रतिशतदेखि ४.५२ प्रतिशतसम्म पुगेको छ।

बैंकहरूको लाभांशको रूपमा वितरण योग्य नाफा २१ अर्ब ३० करोड रूपैयाँ बराबर छ। कुल बैंकहरूले औसत ८.३७ प्रतिशतको दरमा लाभांश बाँड्न सकिने देखिन्छ ।  एनआइसी एसिया बैंकले सबैभन्दा धेरै, ३२.४३ प्रतिशत र त्यसपछि एभरेष्ट बैंकले २६.५६ प्रतिशतको दरमा लाभांश बाँड्न सक्ने देखिन्छ। बैंकहरूको चुक्ता पुँजी भने १२.४४ प्रतिशतले बढेर तीन खर्ब चार अर्ब रूपैयाँ पुगेको छ  ।

नाफा घटेका बैंक
चालु आवको ६ महिनाको अवधिमा प्राइम बैंक, सिदार्थ बैंक, नेपाल बैैंक, सनराइज बैंक, प्रभु बैंक र सिटिजन्स बैंकको नाफा घटेको छ । कृषि विकास बैंकको नाफा ऋणात्मक बनेको छ ।

नाफा बढेका बैंक
चालु आवको ६ महिनाको अवधिमा ग्लोबल आंइएमई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सिभिल बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक, एनएमबि बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ ।

ग्लोबल आइएमई बैंक –
बैंक अफ काठमाण्डूसँग मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गरिसकेको ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले गत वर्षको तुलनामा खुद नाफा ४.४७ प्रतिशतले बढेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

दोस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ३.१९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको यस्तो मुनाफा ३ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ४ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यो हिसाबले ब्याज आम्दानी ३६.४५ प्रतिशतले उकालो लागेको छ ।
समीक्षा अवधिसम्म बैंकले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले २ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर २.९२ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिसम्म एनपीएल १.१३ प्रतिशतमा सीमित रहेको थियो ।
नबिल बैंक-

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म नबिल बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढेको छ । पुस मसान्तसमम बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफा ५६.०७ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा पुगेको छ भन् प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ ।
३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १५ अर्ब ६४ करोड १५ लाख २९ हजार कर्जा लगानी गरेको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेर गत असारमा एकीकृत कारोबार सुरु गरेको थियो ।

एनआइसी एशिया बैंक-

एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७९(८० को ६ महिनामा ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो । बैंकको स्व–पूँजीमा प्रतिफल २४.७५ प्रतिशत रहेको छ ।
दोस्रो त्रयमाससम्ममा बैंकले ३ खर्ब ८ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६६ अर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकले वार्षिक प्रतिशेयर आम्दानी ५६.७७ रुपैयाँ आर्जन गरेको छ । स्वपूँजीमा प्रतिफल र प्रतिशेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । दोस्रो त्रयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
बैंकले आव २०७९(८० को दोस्रो त्रयमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

सिद्धार्थ बैंक-

चालु आर्थिक वर्षको ६ महिनामा सिद्धार्थ बैंकको नाफा २६.३८ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ५७ करोड ७३ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेकामा चालु आवको सोही अवधिमा आइपुग्दा २६.३८ प्रतिशतले घटेर १ अर्ब १६ करोड ११ लाख ९९ हजारमा सिमित भएको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन मु्नाफा घटेको छ । गत आवको दोस्रो त्रैमासमा ३ अर्ब ६९ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकामा चालु् आवको सोही अवधिमा आइपुग्दा ४ अर्ब १ करोड ७८ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन म्ुनाफा भने २ अर्ब २८ करोड ८ लाख ५१ हजार रुपैयाँबाट घटेर १ अर्ब ६५ करोड ७२ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

१४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ८ अर्ब ८२ करोड १५ लाख ७२ हजार रुपैयाँ रहेको छ । २ खर्ब ५ अर्ब १२ करोड ९१ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैकले १ खर्ब ७७ अर्ब ६० करोड १६ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा ०.३७ प्रतिशतबाट बढेर २.८७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २९ पैसा छ ।

सिटिजन्स बैंक-

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिटिजन्स बैंकको नाफा ३२.११ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब २३ करोड ९३ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा आइपुग्दा ३२.११ प्रतिशतले घटेर ८४ करोड १३ लाख ३३ हजार रुपैयाँमा सिमित भएको छ ।
यो अवधिमा बैंकको वितरणयोग्य नाफा ५ करोड ५७ लाख ९९ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १८.८८ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ५७ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २९.७१ प्रतिशतले घटेर १ अर्ब १९ करोड १९ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा रहेको छ । गत आवको सोही अवधिमा १७ रुपैयाँ ४५ पैसा रहेको थियो । प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५२ पैसा रहेको छ । १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ६४ करोड ७२ लाख ३० हजार रुपैयाँ रहेको छ । १ खर्ब ५९ अर्ब ४८ करोड १७ लाख ३५ हजार निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३८ अर्ब ५७ करोड ९४ लाख ३६ हजार कर्जा लगानी गरेको छ ।

प्राइम कमर्सियल बैंक-

प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले १ अर्ब ६५ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १.६८ प्रतिशतले घटेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४१ लाख ५ हजार रुपैयाँ रहेको छ ।

दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि २।०१ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब ७६ करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले ब्याज आम्दानी २७.९६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६० अर्बरुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर २.८१ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिसम्म एनपीएल ०.७८ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकको वार्षिकीकृत बैंकको प्रतिसेयर नेटवर्थ १४३.१० रुपैयाँ र तरलता अनुपात २५.५३ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंक –

चालु आवको ६ महिनामा एभरेष्ट बैंकको नाफा ८९.२९ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकको नाफा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले २ अर्ब ८४ करोड ६९ लाख ६८ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।
१० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९० करोड ९ लाख ८५ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.५५ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म एक खर्ब ८० अर्ब ७९ करोड २९ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब ५७ अर्ब ९२ करोड ७३ लाख ६२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६९ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ २२१ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रभु बैंक –

चालु आर्थिक वर्षको ६ महिनामा प्रभु बैंकले १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४.९२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३६ करोड ४२ लाख २४ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैकको खुद ब्याज आम्दानीमा सुधार देखिएको छ भने सञ्चालन आम्दानी भने घटेको छ । बैंकको खुद ब्याज आम्दानी २०.३ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ८ लाख ८२ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा १२।५२ प्रतिशतले घटेर १ अर्ब ६३ करोड ४१ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ८ करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको छ । २ खर्ब ७० अर्ब ९२ करोड ३३ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ४५ अर्ब ३८ करोड ५५ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रति सेयर आम्दानी १० रुपैयाँ १९ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १४० रुपैयाँ १२ पैसा रहेको छ ।

सिभिल बैंक-

हिमालयन बैंकमा विलय हुन लागेको सिभिल बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समीक्षा अवधिसम्म बैंकले ६३ करोड ७० लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा २६.३९ प्रतिशतले बढेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २५ करोड २२ लाख रुपैयाँ रहेको छ ।
दोस्रो त्रैमाससम्म बैंकले ९० करोड ३९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ९२ करोड २२ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ४६ करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले ब्याज आम्दानी ५३.८९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म बैंकले ९४ अर्ब ७१ रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ९४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब २ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर २.४१ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिसम्म एनपीएल ०.९४ प्रतिशत थियो ।
बैंकको प्रतिसेयर नेटवर्थ १३५.९६ रुपैयाँ र तरलता अनुपात २२.११ प्रतिशत रहेको छ ।

सानिमा बैंक-

सानिमा बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले १ अर्ब २८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७ करोड नाफा आर्जन गरेको थियो । यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १९.३४ प्रतिशतले बढेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड २२ लाख रुपैयाँ रहेको छ ।
दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ८२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब १८ करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले ब्याज आम्दानी ४७.१८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म बैंकले १ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ५७ अर्बरुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ०.७७ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिसम्म एनपीएल ०.३१ प्रतिशत थियो । बैंकको प्रतिसेयर नेटवर्थ १४४.८२ रुपैयाँ र तरलता अनुपात २४.८६ प्रतिशत रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक-

स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ६१.३६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १ अर्ब ८ करोड ६७ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको ६ महिनामा बैंकले १ अर्ब ५ लाख ५४ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

चालु आवको ६ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा लगायत धेरै सूचकमा सुधार देखिएको छ । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशतले बढेर २ अर्ब ८४ करोड ६० लाख ४० हजार रुपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन मुनाफा ६१.९१ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा रहेको छ । ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ चुक्ता पुुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ६३ करोड २० लाख ३१ हजाररुपैयाँ रहेको छ ।
बैंकले यो अवधिमा १ खर्ब २ अर्ब ७१ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेकामा ८१ अर्ब ३ करोड ६७ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

माछापुच्छ्रे बैंक-

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.४२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैकले १ अर्ब १ करोड ८ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड ८० लाख ६० हजार रुपैयाँ रहेको छ ।

१० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १३ करोड ८९ लाख ७१ हजार रुपैयाँ रहेको छ । १ खर्ब ५० अर्ब ५४ करोड २१ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३५ अर्ब ५७ करोड ७१ लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंक-

लक्ष्मी बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले १ अर्ब ७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ८१ करोड ७३ लाख नाफा आर्जन गरेको थियो । यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ३१.७७ प्रतिशतले बढेको छ ।यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ४९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि ३१.९१ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ६० करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले ब्याज आम्दानी ७२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ३९ अर्बरुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर १.५८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६.७४ रुपैयाँ र तरलता अनुपात २१.८३ प्रतिशत रहेको छ ।

नेपाल एसबिआई बैंक-

नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७८ करोड २७ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ५०.३९ प्रतिशतले बढेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि ४९.८८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्म बैंकले २ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ७१ करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले ब्याज आम्दानी ५५.९१ प्रतिशतले बढेको छ । चुक्तापुँजी ९ अर्ब ८२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १०.०५ प्रतिशतले बढेर ६ अर्ब ४१ करोड रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिसम्म रिजर्भमा ५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ०.४७ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिसम्म एनपीएल ०.१४ प्रतिशत थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७७.६९ रुपैयाँ रहेको छ ।

हिमालयन बैंक –

चालु आर्थिक वर्षको ६ महिनामा हिमालयन बैंकको नाफा २८.४१ प्रतिशतले बढेको छ । बैंकको नाफा २८.४१ प्रतिशतले बढेर ९५ करोड ४७ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ८ करोड ७२ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
१४ अर्ब ६२ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४२ करोड ३४ लाख ३९ हजार रुपैयाँ रहेको छ । १ खर्ब ७६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५३ खर्ब ३६ करोड ४९ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा ०.७२ प्रतिशतबाट बढेर ३.७७ प्रतिशत पुगेको छ । १३ रुपैयाँ ६३ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६२ पैसा रहेको छ ।

सनराइज बैंक –

सनराइज बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले ६५ करोड ३९ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ७४ करोड ५५ लाख नाफा आर्जन गरेको थियो । यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १२.२८ प्रतिशतले घटेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ करोड ६१ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

दोस्रो त्रैमाससम्म बैंकले ९२ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि १२.९२ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ८३ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले ब्याज आम्दानी ५९.३० प्रतिशतले बढेको छ ।

चुक्तापुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १३.९४ प्रतिशतले बढेर ७ अर्ब १२ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ६ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ३१ अर्बरुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ३.३६ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिसम्म एनपीएल १.४१ प्रतिशत थियो । बैंकका प्रतिसेयर नेटवर्थ १७०.२३ रुपैयाँ र तरलता अनुपात २४.८२ प्रतिशत रहेको छ ।

एनएमबि बैंक –

एनएमबि बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७१ करोड नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ११.०८ प्रतिशतले बढेको छ ।यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा पनि १२.२० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्म बैंकले ४ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब ७१ करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले ब्याज आम्दानी ५७.२२ प्रतिशतले बढेको छ । चुक्तापुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ९.३६ प्रतिशतले बढेर ७ अर्ब ६० करोड रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिसम्म रिजर्भमा ६ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ८४ अर्बरुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर २.२४ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिसम्म एनपीएल १.४९ प्रतिशत थिया । बैंकका प्रतिसेयर नेटवर्थ १४८.१० रुपैयाँ र तरलता अनुपात २५.४० प्रतिशत रहेको छ ।

कुमारी बैंक –

एनसीसी बैंकलाई प्राप्ति गरेको कुमारी बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म १ अर्ब रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ । शनिबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब १ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको हो। गत वर्ष यही अवधिसम्म बैंकले ९५ करोड १७ लाख रुपैयाँ रहेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २२ करोड ४४ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म बैंकलाई १ अर्ब ५७ करोड रुपैयाँ सञ्चालन मुनाफा भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ३६ करोड रुपैयाँमा सीमित थियो ।

समीक्षा अवधिसम्म बैंकले ४ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो । यो हिसाबले ब्याज आम्दानी ६१.६४ प्रतिशतले बढेको छ ।चुक्तापुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ बढेर १२ अर्ब ५ करोड रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिसम्म रिजर्भमा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म बैंकले २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकको निष्क्रिय कर्जा एनपीएल बढेर ३.१५ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिसम्म एनपीएल १.०६ प्रतिशतमा सीमित रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ १४७ .१७ रुपैयाँ र तरलता अनुपात २०.०९ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक- 

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ४१.२८ प्रतिशतले बढेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

दोस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ८३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा पनि ५४.३५ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्म बैंकले ६ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ४ अर्ब ५२ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले ब्याज आम्दानी ३२.७९ प्रतिशतले बढेको छ ।

चुक्तापुँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६।०१ प्रतिशतले बढेर १६ अर्ब ८२ करोड रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिसम्म रिजर्भमा १५ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म बैंकले २ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले २ खर्ब ५८ अर्बरुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) घटेर २.७९ प्रतिशत झरेकोछ । गत वर्ष यही अवधिसम्म एनपीएल ३.०६ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३७.०५ रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा ईपीएस ३२.१५ रुपैयाँ रहेको थियो ।

नेपाल बैंक-

नेपाल बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले १ अर्ब १७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १७.३९ प्रतिशतले घटेको हो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १९ करोड ८३ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ५१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ३ अर्ब २ करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले ब्याज आम्दानी २७.२४ प्रतिशतले बढेको छ ।
चुक्तापुँजी १५ अर्ब ६९ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १३.३१ प्रतिशतले बढेर १९ अर्ब ९८ करोड रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिसम्म रिजर्भमा १७ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म बैंकले २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ३.११ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिसम्म एनपीएल १.९१ प्रतिशत थियो।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) थोरै घटेर १५.९३ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १९.६७ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २३८.०२ रुपैयाँ र तरलता अनुपात २४.६० प्रतिशत रहेको छ ।

कृषि विकास बैंक –

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कृषि विकास बैंक लिमिटेडको वित्तीय प्रदर्शन सन्तोषजनक रहेको छैन । आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म बैंकलाई ११ करोड १५ करोड सञ्चालन घाटा भएको छ । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो । चुक्तापुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ थोरै बढेर ११ अर्ब ९५ करोड रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिसम्म रिजर्भमा ११ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ४.५२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.०८ प्रतिशतमा सीमित रहेको थियो। यो हिसाबले एनपीएल ११७.३१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४.४३ रुपैयाँले ऋणात्मक रहेको छ । गत वर्ष यही अवधिमा ईपीएस १९.१० रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ र तरलता अनुपात २४.१० प्रतिशत रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार