बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका छन् ।

प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिए । ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहे ।

जम्कट्टेलले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये ६ दलले उनलाई विश्वासको मत दिएको छ ।

पुस २५ गते मुख्यमन्त्री नियुक्त हुँदा जम्कट्टेललाई नेपाली कांग्रेसले समर्थन गरेको थिएन । नेपाली कांग्रेस कार्यसम्पादन समितिको मंगलबार बिहान बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार