राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्न माधव समूहका १५ नेताको माग

नेकपा एमालेको माधवकुमार नेपाल समूहका १५ जना स्थायी कमिटीका सदस्यहरुले उपप्रधानमन्त्री राजेन्द्र महताको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट गर्न माग गरेका छन् ।

शनिबार साँझ उनीहरुले संयुक्त विज्ञप्ति निकाल्दै कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन नसक्ने उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट गर्नुपर्ने माग गरेका हुन् । वक्तव्यमा नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएको छ ।

‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’, नेपालसहितका नेताको संयुक्त वक्तव्यमा भनिएको छ ।

झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालले संयुक्त वक्तव्य जारी गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार