दुर्गमका विद्यार्थीको दुख : पानी नबोकी जुर्दैन विद्यालय जाने साइत

'निर्माणाधीन खानेपानी आयोजना पूरा नहुँदा सास्ती'

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैराका १४ वर्षीय युकेश राईले कुवाको पानी डोकोमा बोकेको छ वर्ष भयो । दुर्छिम माविमा कक्षा ९ मा अध्ययनरत युकेशलाई बिहान एक पटक पानी नबोकी विद्यालय जाने साइत जुर्दैन ।

डोकोभरि गाग्री र बोतल बोकेर धारापानी पुग्न र त्यहाँबाट पानी भरेर २० मिनेटको उक्कालो छिचोल्नु युकेशको बाध्यता हो । युकेशले डोकामा बोकेको पानी आठ जनाको परिवारले उपभोग गर्छन् ।

युकेश जस्तै त्यस गाउँका अधिकांश बालबालिकाको दैनिकी स्कुल जानुभन्दा अगाडि पानी बोक्नेमा बित्छ । घरका अभिभावक खेतीपातीको काममा जाने र बालबालिकाले पानीको जोहो गर्नु कोटगैराका बालबालिकाको दैनिकी हो ।

उसो त त्यही वडाको राँभुवासीले पनि पुस्तौँदेखि पानीको सास्ती खेप्दै आएका छन् । स्थानीयवासी ५९ वर्षीय अमृतबहादुर राईका अनुसार यस क्षेत्रका अधिकांशले दुई÷तीन घण्टाको बाटो पानीकै लागि धाउनुपर्ने अवस्था छ ।

पानीका मुहान सुक्दै जानु र निर्माणाधीन खानेपानी आयोजना पूरा नहुँदा यो कष्ट झेल्नु परेको उनको भनाइ छ । यस क्षेत्रमा प्राकृतिक विपत्ति आइपरेको र यसले पानीको मुहानमा पनि समस्या पैदा गरेको राईले सुनाए ।

‘विसं २०४१ मा बाढीपहिरो आयो । त्यतिखेर पानीको मुहान फुट्यो । विसं २०४५ को भूकम्पले फेरि पानीको मुहान सुक्यो’, राईले भने, ‘फेरि २०७२ सालको भूकम्पले त सुक्खाराम बनायो ।’

यो ठाउँमा पानी आपूर्तिका लागि सरकारले रु एक अर्बको आयोजना विस्तारको काम सुरु गरे पनि उक्त आयोजनाको काम अपूरै छ । दूधकोसीको पानी पम्पिङ गरेर गाउँमा वितरण गर्ने आयोजना ठेकेदारको लापरबाहीले अलपत्र अवस्थामा छ ।

विसं २०६७ मा सुक्खाग्रस्त क्षेत्रमा घोषणा गरिएको हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश वडामा खानेपानीको समस्या छ । त्रिधार्मिकस्थल हलेसीमा ट्याङ्करमा बोकेर ल्याएको पानी खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छ ।

नेपाल सरकारको गौरवको आयोजना अलपत्र रहेको अवस्थामा दुर्छिमस्थित कोटगैरा र राँभुका स्थानीयवासीलाई लक्षित गरेर जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाले मुहान संरक्षणका लागि बजेट उपलब्ध गराएर होस्टेमा हैँसे गरेपछि केही राहत मिलेको स्थानीयवासी बताउँछन् । नेपाल सरकार तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा धारापानी राँभु, धारापानी–२, धारापानी–३ र छापमुल पँधेरो मुहान संरक्षणका लागि रु चार लाख बजेट उपलब्ध गराएको हो ।

आयोजनाबाट दुई गाउँका १२४ घरधुरी उपभोक्तालाई खानेपानीको सुविधा मिलेको राँभुकी ६४ वर्षीया नैनसरी राईले बताए।

‘पहिलेभन्दा अहिले त कति हो कति पानीको सुविधा छ’, राईले भने, ‘पहिले पानी लिनका लागि कुवामा गएर लाइन लाग्नुपथ्र्यो । अहिले अधिकांशको घरमा पानीको धारा पुगेको छ ।’

त्यस क्षेत्रका पानीका मुहान खुला राखिएकाले बर्सातका समयमा भलबाढी र अन्य फोहरले पानी दूषित हुने देखिएको छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी देखिएको छ । पानीको स्रोत बढाउन र त्यसलाई दिगो राख्न समुच्च खाडलहरुसमेत निर्माण गरिएको छ । ताराखसे सामुदायिक वन क्षेत्र, सिमसार, खिरिम्टे र सारुवा भुइँचुङ भन्ने ठाउँमा एक हजार ८५० घनमिटर रिचार्ज पोखरी निर्माण गरिएको राँभुमा सञ्चालित हाम्रो साना किसान सहकारी संस्था दुर्छिमका अध्यक्ष मनकुमार राईले बताए ।

आमा समूह तथा स्थानीयवासीको सहभागितामा उक्त रिचार्ज पोखरी खनिएको पोखरी निर्माणमा सहभागी कौशिला चाम्लिङले बताए । रिचार्ज पोखरीले पानीको स्रोत बढेको राँभुकै सर्वधन राईको भनाइ छ ।

‘रिचार्ज पोखरीले पानीको स्रोत बढ्छ भन्ने जानकारी थिएन’, सर्वधनले भने, ‘पोखरी निर्माण भएपछि पानीको मात्रा बढेको छ, अहिले त धान रोप्न पनि सजिलो भएको छ ।’

रिचार्ज पोखरी निर्माण, मुहान संरक्षण र सिँचाइ योजनाका लागि आयोजनाको रु १९ लाख बजेट उपलब्ध गराएको सहकारीका अध्यक्ष राईको भनाइ छ । उक्त योजनाका लागि स्थानीयवासीले २५ प्रतिशत श्रमदान गरेको राईले बताए ।

स्थानीय ६० घर उपभोक्ताका लागि लक्षित गरेर वाखिला घामपानीमा सिँचाइ पोखरी निर्माण गरिएको छ । १५ मिटर लम्बाइ, पाँच मिटर चौडाइ र डेढ मिटर गहिराइको सिँचाइ पोखरी निर्माण गरिएको उपभोक्ताले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार