नेपाली सेनाको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ जंगी अड्डामा सुरु

काठमाडौं । नेपाली सेनाको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ जंगी अड्डामा सुरु भएको छ । बुधबार जंगी अड्डामा आयोजित विशेष समारोहका बीच रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको शुभारम्भ गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै देशको संवेदनशील भूराजनैतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।

उनले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाडौं–तराई–मधेस द्रुतमार्ग लगायतका विभिन्न राष्ट्रिय सडक करिडोरहरुको निर्माणमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उक्त आयोजनाहरु समयमै सम्पन्न गर्न नेपाली सेना सक्षम रहेको बताए ।

साथै, नेपाली सेनाको पहलकदमीमा स्थापना हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल संचालनमार्फत भविष्यमा यस क्षेत्रमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञहरू उत्पादन हुने र नेपाली सेना अन्तर्गत संचालित राष्ट्रिय गौरवका आयोजना लगायत महत्वपूर्ण आयोजनाहरुको निर्माणको लागि आवश्यक पर्ने श्रोत साधनको अभाव हुन नदिने विश्वास समेत प्रधानमन्त्रीले गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार