कतारबाट फर्केका यादवलाई बन्धक बनाएर ४ लाख ८० हजार रुपैयाँ माग्ने दुई युवक पक्राउ

कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गर्दै घटनामा संलग्न आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।

सोमबार कतारबाट काठमाडौं आएका सप्तरीको राजविराज नगरपालिका–१३ घर भएका सितेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सकुशल उद्दार गरेको हो ।

साथै उनको अपहरणमा संलग्न आरोपमा प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–३ घर भई सिनामंगल बस्ने २५ वर्षीय अजिम अली र मलंगवा नै नगरपालिका वडा नम्बर ७ घर भई हाल सिनामंगल बस्ने २५ वर्षीय एम। डी। सनी अलाहीलाई पक्राउ गरेको छ ।

उनीहरुले सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग गर्दै एउटा कोठामा बाँधेर राखेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

पीडित यादव कतारबाट फर्किंदा मनसुर अली नाम बताउने व्यक्तिले २५ ग्राम सुन दिई आफ्नो भतिज अजिम अलिलाई दिनु भनी यादवको मोबाइल नम्बर दिएका थिए ।

पीडित काठमाडौँ ओर्लिएपछि अजिम अलीलाई फोन गरी सामान (सुन) लिन बोलाएकोमा अर्कै मान्छे आएर सुन लगेका थिए । त्यसपछि अजिमले सुन आफूले नपाएको भनी पीडितलाई आफू बस्ने डेरा सिनामंगलमा जबर्जस्ती लगी कुटपिट गर्दै उनकी श्रीमतीलाई ४ लाख ८० हजार दिए मात्र छाड्ने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

साथै अजिम अलीले पीडितको साथबाट पासपोर्ट र १७ हजार ७४० रुपैयाँ पनि लुटेको पाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार