रिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । ‘चेन अफ कमान्ड’मा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय सेना नेपाली सेनाकै नेतृत्वविरुद्ध यस्तो उजुरी परेको हो ।
उपरथीको पहिलो नम्बरमा रहेका कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उजुरी दिएका हुन् । राष्ट्रिय प्रतिरक्षा निर्माण समितिको कार्यालय जगन्नाथ देवलमा कार्यरत उपरथी कार्कीले आफूलाई प्रधानसेनापति शर्माले स्वेच्छाचारी ढंगले र गैरकानुनी रूपमा पदावधि नथपेको उल्लेख गर्दै रक्षामन्त्री देउवालाई निवेदन दिएका हुन् । त्यसको बोधार्थमा राष्ट्रपति, सभामुख र राष्ट्रिय सभाको अध्यक्षलाई राखेका छन् ।
बढुवा र पदावधि थपका विषयमा सैनिक अधिकारीले प्रायः रक्षा मन्त्रालयमा उजुरी दिने गरेको भए पनि उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवासँगको पुरानो सम्बन्धका कारण उपरथी कार्कीले प्रधान सेनापतिको सिफारिसविरुद्ध उजुरी दिएका हुन् । शेरबहादुर देउवा विगतमा प्रधानमन्त्री हुँदा उनी केही वर्षअघि एडीसी थिए । त्यही आधारमा उनले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको हुन सक्ने स्रोतको दाबी छ ।
कार्कीको नियमित ३ वर्षे कार्यकाल यही माघ २३ मा सकिँदै छ । कार्यकाल थपिएको भए अहिलेका दुई रथीहरु बालकृष्ण कार्की र सरोजप्रताप राणाले अवकाश पाएपछि कार्की सिनियर रथी हुने थिए । सैनिक ऐनअनुसार साधारणतर्फ उपरथीको नियमित ३ वर्षको कार्यकाल हुन्छ । त्यसपछि थप दुई वर्षको एक कार्यकाल थप्न सकिने व्यवस्था छ । कार्कीले प्रधानसेनापति शर्माले आफूभन्दा कनिष्ठ वरीयताका उपरथीद्वय सीताराम खड्का र ताराध्वज पाण्डेको दुईवर्षे कार्यकाल थप्न रक्षा मन्त्रालयमा पुस १७ मा सिफारिस पठाएको गुनासो गरेका हुन् ।