भारतीय कलाकार नआएपछि दर्शकले महोत्सवको स्टेज तोडफोड गर्दै सवारी जलाए

सुनसरीको बर्जु तालस्थित बर्जु महोत्सवमा भारतको बिहारका चर्चित कलाकार तथा गायक खेसारीलाल यादव नआएको भन्दै दर्शकले आगजनी र तोडफोड गरेका छन् ।

सुनसरीको बर्जू गाउँपालिका-६ स्थित चिमडीमा भएको बर्जू महोत्सवमा मंगलबार अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका हुन् । उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमा समेत आगो लगाएका छन् । आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भएको छ । तोडफोडबाट ठूलो जनधनको क्षति भएको बताइएको छ ।

घटनास्थललाई नियन्त्रणमा लिनका लागि  मोरङ र सुनसरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको उनले बताए ।

बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो ।

यस क्षेत्रमा बिहारी कलाकार खेसरीलाल निकै चर्चित मानिन्छन् । तर कार्यक्रममा उनी नआएपछि प्रशंसकहरूले आक्रोशित हुँदै स्टेज तोडफोड गरेका हुन् ।

त्यसो त जिल्ला प्रशासन कार्यालयले कोरोनाको जोखिम बढ्नसक्ने भन्दै उक्त कार्यक्रम नगर्न आदेश दिएको थियो । बर्जु गाउँपालिकाको नाममा पत्र पठाउँदै महोत्सव नगर्न प्रशासनले निर्देशन दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार