वीरगञ्जको नबिल बैंकमा चोरी गरेको आरोपमा दुई जना पक्राउ

पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार बिहान वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले पुष्टि गरे । अनुसन्धान भइरहेकाले उनीहरुको विवरण प्रहरीले गोप्य राखेको छ ।

चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको एसपी ढुंगेलले बताए ।

चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको छ । चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ ।

नबिल बैँकले १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको थियो ।

पर्सा प्रहरीले संकलन गरेको विवरणअनुसार, चोरको एक समूहले आइतबार बिहान करिब चार बजे बैंकको ताल्चा फुटाई भित्र पसेको देखिन्छ । वेल्डिङ गर्ने मेसिनले टिनको बक्सा काटेर नगद निकालेको र बोरामा हालेर लगेको प्रहरीको भनाइ छ ।

बैंकले प्रहरीमा दिएको विवरणअनुसार, टिनमा एक सय र बीस रुपैयाँ दरका नोट थिए । चोरी गरी फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाएर चोर भागेको पाइएको छ ।

सोमबार बिहान बैंकका गार्डले ताल्चा खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको रोहबरमा ताल्चा फुटाएर भित्र प्रवेश गर्दा चोरी भएको पाइएको थियो ।

चोरीमा करिब ७ जनाको समूह सहभागी भएको पाइएको छ । मुख्य स्पेसमा राखिएका पैसा भने चोरले नलगेका प्रहरीको भनाइ छ ।

दुई जना पक्राउ परे पनि रकम भने प्रहरीले थोरै मात्रामा बरामद गरेको छ । बाँकी रकम भारत पुर्‍याइसकेको आशंका प्रहरीले गरेको छ ।

चोरी गर्नुे समूहका थप व्यक्ति समेत भारत पुगेको आशंकमा काउन्टर पार्टसँग समन्वय गरेर काम भइरहेको प्रहरी स्रोतले जानकारी दियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार