सरकारविरुद्ध विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनको सिट्ठी जुलुस

विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनले बिहीबार काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले देशमा भइरहेको भ्रष्टाचार र महँगीविरुद्ध काठमाडौंको माइतीघर लगायत मुलुकका ७७ वटै जिल्लामा बिहीबार सिट्ठी जुलुस प्रदर्शन गरेका हुन् ।

काठमाडौंको माइतीघरमा भेला भएका विद्यार्थी संगठन सिट्ठी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए । उनीहरुले सरकारले असंवैधानिक काम गर्दै आएको भ्रष्टाचारलाई प्रश्रय दिएको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकार विरोधी नारा लगाएका थिए ।

प्रतिगमनका विरुद्ध सिट्ठी जुलुसको ब्यानरमा प्रदर्शन गर्दै उनीहरुले महँगी, भ्रष्टाचार र कुशासन बन्द गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर लगाएका नारा लगाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा विद्यार्थीहरुले सरकारले प्रतिगमन नसच्चाएसम्म आन्दोलन जारी रहने बताएका थिए । अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले महँगी, भ्रष्टाचार र कुशासनका कारण जनताले दु:ख पाउनु परेको भन्दै आन्दोलन जारी रहने बताए ।

प्रतिनिधिसभा विघटनपछि विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनले विभिन्न चरणमा सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार