नेटो राष्ट्रहरुले अफगानिस्तानमा सहयोग जारी राख्ने

उत्तर एटलान्टिक सन्धी संगठन, नेटोमा आवद्ध रहेका देशहरुले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जनाएका छन् । अफगानिस्तानको शान्ति स्थापनाको काममा नेटोआबद्ध देशहरुले सहगोग गर्दै आएका थिए । तर ती देशले काबुलबाट आफ्ना देशका सेना फिर्ता लैजाने निर्णय गरिसकेका छन् ।

सेना फिर्ता लगे पनि अफगानिस्तानमा शान्तिका लागि गर्दै आएको सहयोगका कामलाई नेटोले निरन्तरता दिने जनाएको बताइएको छ । नेटो संगठनका महासचिव जेन्स स्टोल्टेनबर्गले मंगलबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ ।

नेटोका रक्षा मन्त्रीहरुको भर्चुअल बैठक सकिएलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा महासचिव जेन्स स्टोल्टेनबर्गले सो कुराको जानकारी दिएका हुन् । सो पत्रकार सम्मेलनमा उनले नेटो देशहरुले अफगानिस्तानको सुरक्षाका लागि विगत लामो समयदेखि नेटो राष्ट्रहरुले गरिआएको सहयोगको स्मरण गरेका थिए ।

त्यसपछि उनले अफगानिस्तानमा शान्ति स्थापनाको कार्यमा नेटोले पनि आवश्यक सहयोग गर्ने जानकारी दिएका थिए । उनले त्यस पत्रकार सम्मेलनमा भनेका थिए– हामीले अफगानिस्तानमा सैन्य मिसनको अन्त्य गर्न लागेका हौँ तर पनि हामीले अफगानिस्तानलाई गर्ने अरु खाले सहयोगको अन्त्य भने गर्न लागेका होइनौँ ।

उनका अनुसार अफगानिस्तानको काबुलमा रहेका नेटो देशका सेनाहरु अब फिर्ता गर्ने प्रक्रिया शुरु भइसकेको छ । त्यसबमोजिम अब नेटोका देशहरुले त्यहाँबाट सेना फिर्ता गर्ने प्रक्रियाको थालनी गरिसकेका अमेरिका र नेटोआबद्ध देशहरुले जनाएका छन् ।

अफगान सरकार र त्यहाँका तालिबान विद्रोहीहरुबीचको वार्ताका क्रममा तालिबानहरुले अफगानिस्तानबाट नेटोसहित अमेरिकी सेनालाई फिर्ता गर्नुपर्ने माग गरेका थिए । उनीहरुको सो मागपछि अफगान सरकार र अमेरिका पनि त्यहाँबाट नेटो सेना फिर्तागर्न सहमत भएको यसअघिका समाचारहरुमा जनाइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार