काँग्रेसको निष्कर्ष: सरकारले कोरोना रोक्नेभन्दा आतङ्क फैलाउने काम गर्‍यो

नेपाली काँग्रेसले कोभिड–१९ सङ्क्रमण रोक्नेभन्दा त्रास फैलाएर सरकारले आतङ्क फैलाउन खोजेको निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकार कोरोना सङ्क्रमण नियन्त्रण गर्नेभन्दा कोभिडको त्रास फैलाएर आफ्ना अवैधानिक हर्कतको ढाकछोप गरी सुरक्षित हुने प्रयास गरेको निष्कर्ष निकालेको हो ।

संक्रमणको आडमा जनतालाई आतङ्क फैलाउने र राजनीतिक स्वार्थ पुरा गर्ने नियत देखिएको भन्दै बैठकले भर्त्सना गरेको कांग्रेस सह महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

कोरोना महामारीमा पनि सरकारले अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्ने, पीसीआर परीक्षणको दायरा विस्तारित गर्ने र गाउँ गाउँका नागरिकलाई पनि उपचारको दायरामा पु-याउने सार्थक प्रयास गर्न नसकेको कांग्रेसको ठहर रहेको उनले बताए ।

त्यस्तै बैठकले संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँलाई सशक्त रूपमा अघि बढाउने निर्णय गरेको महतले बताए । उनले सरकारले असंवैधानिक बाटोबाट राज्यसत्ता कब्जा गर्ने र अधिनायक शासन चलाउने नियत राखेको भन्दै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गरिने जानकारी दिएका छन् ।

अहिले नागरिकको जीवन नै जोखिममा परेको अवस्था रहेको र जनताको स्वास्थ्यमा खेलबाड नगर्न काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार