क्यानको बैठक बस्दै, सन्दीपलाई कप्तानबाट निलम्बन गर्ने तयारी

काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ ।

प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । प्रहरीका अनुसार उनको उमेर १७ वर्षको छ । त्यसपछि गौशाला प्रहरीले काठमाडौं प्रहरी प्रमुख बोहोरालाई त्यसबारे जानकारी गराएको थियो ।

प्रहरीमा जबरजस्ति करणीको जाहेरी परेसँगै नेपाली क्रिकेट कप्तान सन्दिप लामिछानेको करिअर संकटमा परेको छ । गम्भीर आरोपमा मुछिएको हुँदा मुद्दा किनारा नलागेसम्म उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय लिगहरु गुमाउनुपर्ने हुन सक्छ ।

यस विषयमा छलफल गर्नका लागि नेपाल क्रिकेटसँघ (क्यान)को बैठक बुधबार बस्दै छ । आरोप प्रमाणित नभएसम्म उनलाई दोषी ठहर गर्न नमिल्ने भए पनि क्यानले उनको कप्तानी तत्काललाई ‘निलम्बन’ मा राख्न सक्छ । क्यानका अध्यक्ष चतुरबहादुर संघले बसेर यस विषयमा निर्णय लिने बताए ।

क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो । ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीहरु अनुशासन उल्लंघनको आरोपमा कारवाहीमा परेपछि सन्दीपले कम उमेरमा राष्ट्रिय टिमको बागडोर पाएका हुन् । कप्तानका रुपमा उनको नतिजा मिश्रित छ भने खेलाडीका रुपमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार