निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठ पक्राउ

निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले आफूलाई शिवराम श्रेष्ठले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबीसहित आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित केही महिना अघि काठमाडौैंको माइतीघर तथा वसन्तपुरमा समेत अनशन बसेकी थिइन् । उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेकी थिइन् ।

निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् । श्रेष्ठले नसालु पदार्थ पिलाएर बलात्कार गरेको, तर जिल्ला अदालत धनुषाले सफाइ दिएको उनको आरोप छ ।

त्यसपछि उच्च अदालत जनकपुरमा पुनरावेदन चढाएको ६ महिना बितिसक्दा पनि पेसी सरेको–सर्‍यै भएपछि आफू अनशन बस्न बाध्य भएको उनको तर्क छ । निहारिका पहिलोपटक गत २७ जेठदेखि सात दिन आमरण अनशनमा बसेकी थिइन् । त्यतिवेला उनले आफ्नो बच्चाको डिएनएन परीक्षण गर्नुपर्ने, बलात्कारीलाई पुनः पक्राउ गरेर अनुसन्धान गरिनुपर्नेलगायत पाँचबुँदे माग राखेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार