टान निर्वाचन आज : नेतृत्वका लागि त्रिपक्षीय भिडन्त

निर्वाचनमा नयाँ समीकरण

पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन आज हुदैँछ । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूह भिड्दैछन् । टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित र बोधराज भण्डारीको स्वतन्त्र समूह निर्वाचनमा भिड्न लागेका हुन् ।

बास्तोला एमालेको एउटा समूह र कांग्रेस निकट व्यवसायीको संयुक्त उम्मेदरवार हुन् । सापकोटा माओवादी निकट व्यवसायी हुन् । उनलाई एमालेको अर्को समूहले समर्थन गरेका छन् ।

बास्तोला प्यानलबाट अध्यक्षमा नीलहरि बास्तोला वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु) , सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना तथा सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा रहेका छन् ।

यस्तै सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठी छन् ।

त्यस्तै सापकोटा समूहको अध्यक्षमा सापकोटा, वरिष्ठ उपाध्यक्षमा सरिता लामा, प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे, सहकोषाध्यक्षमा रिञ्जी जाङ्बु शेर्पा र सचिवमा हरि कडरिया रहेका छन् ।

त्यस्तै सदस्यमा दोर्जे तामाङ, विनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्णबहादुर परियार, रामचन्द्र लामिछाने र शरण अधिकारी रहेका छन् । अध्यक्षका अर्का प्रत्यासी भण्डारीको स्वतन्त्र समूहमा वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपाने छन् ।

टानको ४४औं साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुई सय ५० मतदाता पुगेका हुन् । टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनमा नयाँ समीकरण

टान निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी बास्तोलाको नेतृत्वमा नयाँ समीकरण बनेको छ । नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायी बास्तोलाको नेतृत्वमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी समर्थित पर्यटन व्यवसायीले सहकार्य गरेका छन् । अध्यक्षसहित पदाधिकारी पदमा बाँडफाँड गरिएको छ ।

टानका पूर्वअध्यक्ष दीपक महतले टानको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा तीनवटै सङ्गठन सहकार्यका साथ चुनावी प्रचारमा जुटिरहेको बताए । उनले टान नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिए पनि सफल नभएकाले प्रतिस्पर्धाबाटै नेतृत्व चयन गरिने जानकारी दिए । सापकोटालाई भने नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनको साथ रहेको छ ।

कसले के भन्छन् ?
अध्यक्षका प्रत्याशी नीलहरि बास्तोलाले व्यवसायीले खोजेजस्तो टान बनाउने जानकारी दिएका छन्। आफ्नै समूहको उम्मेदवार परिचयात्मक कार्यक्रममा उनले टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा यसलाई वास्तविक व्यवसायीको संस्थाका रुपमा स्थापित गर्न पहल गर्ने प्रतिबद्धता जनाए । बास्तोलाले आफू नेतृत्वमा पुगेको खण्डमा पर्वतीय पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने बताएका छन् ।

दुई वर्षको कार्यकालमा टानको कार्यसमितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई टे«किङ व्यवसायीहरुको हितमा लगाउन चाहेको उनको भनाइ थियो । बास्तोलाले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्था अन्त्य गर्दै टानले नै व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने र व्यवसायीहरुको सहजीकरणका लागि कर्मचारी सहितको सहायता कक्ष (हेल्प डेस्क्र) स्थापना गरिने योजना रहेको जानकारी दिए ।

अध्यक्षका अर्का प्रत्याशी कमल सापकोटाले टानलाई सुदृढ तुल्याउँदै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्ने योजना रहेको बताए । उनले बोर्डलगायत तीनवटै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने बताए । सापकोटाले एजेन्सीमार्फत पदयात्रामा जानुपर्ने अनिवार्य व्यवस्था मिलाउनाका साथै क्षतिग्रस्त पदयात्रा पुनःनिर्माण तथा नयाँ पदमार्गको पहिचान र प्रवद्र्धनमा जुट्ने विश्वास व्यक्त गरे ।

स्वतन्त्र समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका भण्डारीले सामाजिक सञ्जालमार्फत १५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेर चुनावी माहोल आफ्नो पक्षमा बनाउन लागिपरेका छन् । उनले टानलाई राजनीतिकरणबाट मुक्त बनाएर पूर्ण व्यावसायिक बनाउने तथा टान सचिवालयलाई व्यवस्थित बनाएर सदस्य व्यवसायीको हित अनुकूल काम गर्ने योजना सुनाए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार