सङ्क्रमितको उपचारमा गम्भिर बन्न ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई कांग्रेसको ज्ञापन पत्र

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना महामारी नियन्त्रण र सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापत्र पत्र बुझाएको छ ।

बिहीबार सिंहदरबारमा काँग्रेस सभापति शेर बहादुर देउवासहितका नेताहरूले प्रधानमन्त्री ओलीलाई महामारी नियन्त्रण र सङ्क्रमितको उपचारमा सरकार गम्भिर बन्न ध्यानाकर्षण गराउँदै १५ बुँदे ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा सरकारको नेतृत्वपंक्तिको अगुवाइमा गत समयमा भएका भिडभाड, तडकभडक र उद्घाटन कार्यक्रमहरूले सङ्क्रमण द्रुत गतिमा बढ्न मद्दत गरेको उल्लेख छ । हालको सङ्क्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुन सक्ने तेस्रो चरणको सङ्क्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न तत्काल आम जनतालाई खोपको सुनिश्चितता गर्न काँग्रेसले माग गरेको छ ।

त्यस्तै स्वास्थ्य सामाग्री आपूर्तिमा देखिएको अनियमितता, भ्रष्टाचार तथा अहिले भ्याक्सिन आपूर्तिमा देखिएको कमिशनतन्त्रको सम्बन्धित निकायहरूबाट स्वतन्त्र रूपमा छानबिन गर्ने वातावरण सुनिश्चित गर्न पनि काँग्रेसले माग गरेको छ । हाल देखिएको अक्सिजनको चरम अभावलाई हटाउन अक्सिजन कन्सेनट्रेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डरको तत्काल आपूर्ति सुनिश्चित गरी पारदर्शी वितरणको व्यवस्था मिलाउन माग गरिएको काँग्रेस सह महामन्त्री प्रकाश शरण महतले जानकारी दिए ।

देशका हरेक जिल्लाहरूमा आवश्यकता अनुसार अस्पताल बेड, अक्सिजन, आइसियु र भेन्टिलेटर सहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गर्न माग गरिएको उनले बताए । उनले अक्सिजन लगायत अन्य आवश्यक औषधीहरूको आपूर्तिमा देखिएको कार्टेलिङ, कालोबजारी र जम्मा खोरीलाई तत्काल रोक्नुपर्ने माग गरिएको जानकारी दिए ।

काँग्रेसले स्थानीय निकायहरूलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी सङ्क्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट टे«सिङ, सङ्क्रमितहरूको आइसोलेसन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पु-याउने व्यवस्थाका लागि जिम्मेवारी दिनुपर्ने माग गरेको छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण र सङ्क्रमितको उपचारका लागि सरकार गम्भीर रहेको बताएका थिए । काँग्रेस सह महामन्त्री महतले कोरोना रोकथाम नियन्त्रण र सङ्क्रमितको उपचारका लागि निरन्तर ध्यानाकर्षण गराउने जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार