जसपा विवाद : छुट्टै बैठक बोलाउने बाबुरामको तयारी

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षले छुट्टै बैठक बोलाउने तयारी गरेको छ । पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. भट्टराई पक्षले आ–आफ्नो रणनीति बनाइरहेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले असार २७ र २८ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् ।वीरगञ्जमा हुने बैठकको तयारीका लागि अध्यक्ष यादव पक्ष अनौपचारिक छलफल गरिरहेको छ ।अध्यक्ष उपेन्द्र यादवले डा भट्टराई पक्षलाई बैठकबारे जानकारी नै नगराएको बताइन्छ । आफूहरुसँग कुनै सल्लाह नै नगरिएको भन्दै भट्टराई पक्षले विकल्पको खोजीमा आन्तरिक छलफल थालेको हो ।

भट्टराई पक्षले पनि बैठक बोलाएर आगामी रणनीतिको विषयमा छलफल गर्ने तयारी गरेको छ । बुधबार पार्टी अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष भट्टराईबीच छलफल भएको थियो । सो छलफलमा केन्द्रीय समितिको बैठक बस्नेबारे चर्चा नै नभएको भट्टराई पक्षका नेताको दाबी छ । तर बिहीबार असार २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा बस्ने निर्णय आएपछि आफूहरुलाई आश्चर्यचकित बनाएको भट्टराई निकट नेताहरु बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार