नेपालबाट कोरोना भित्रिन सक्ने भन्दै सगरमाथा आरोहण स्थगित

शिखरमा नपुग्दै फर्काइए आरोही

चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो ।

नेपाली मोहडाबाट चीनमा संक्रमण भित्रिन सक्ने भन्दै आरोहण स्थगित गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । सिन्ह्वा न्यूज एजेन्सीका अनुसार त्यहाँको खेलकुद प्रशासनले आरोहण स्थगित गरेको पुष्टि गरेको हो । नेपालको मोहडाबाट हुनसक्ने भाइरस संक्रमणबाट सतर्क हुन चीनले उक्त निर्णय गरेको शुक्रबार जारी विज्ञप्तीमा उल्लेख छ ।

चीनमा पछिल्लो समय कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको छ । बाहिरबाट फेरि कोरोना नभित्रियोस् भनेर उसले निकै सावधानी अपनाएको छ ।
चीनले ३८ जना चिनियाँ आरोहीलाई यो सिजनमा सगरमाथा आरोहणको अनुमति दिएको थियो । ती सबै चिनियाँ आरोही बीचबाटै फर्किएको जनाइएको छ । चीनले भाइरस संक्रमणकै कारण विदेशी आरोहीलाई अनुमति दिएको थिएन । नेपालले भने यस वर्ष ४ सय ८ जनालाई सगरमाथा आरोहणको अनुमति प्रदान गरेको छ । गत वर्ष कोरोना महामारीका कारण दुवैतर्फबाट आरोहण भएको थिएन ।

चीनले गतसाता सगरमाथाको चुचुरोमा सीमा विभाजनको रेखा कोर्ने जनाएको थियो । तर त्यो रेखा कस्तो हुने र कसरी कोर्ने भन्नेबारे भने उसले केही खुलाएको थिएन ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार