भक्तपुरमा गठबन्धनलाई क्लिनस्वीप गर्दै मेयरदेखि वडा सदस्यसम्म नेमकिपा

भक्तपुरमा नेपाल मजदुर किसान पार्टीले यस पटकको स्थानीय तह निर्वाचनमा पनि आफ्नो बर्चस्व कायम राखेको छ । भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भएका छन् । उनले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका रवीन्द्र लाछिमस्यूले दुई हजार ८३७, राप्रपाका बद्री लाखाजुले ११३८, माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७४२, राष्ट्रिय जनमोर्चाका रामभक्त किजुले ४१४ र जनता समाजवादी पार्टीका राजाराम ढुकुछुले १२१ मत पाएका छन् ।

उपमेयरमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १७४२, राप्रपाकी लक्ष्मी छुस्याबागले ११८० मत पाएका छन् ।

नेमकिपासँगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दल पनि प्रतिस्पर्धा रहेकामा सबै पदमा नेमकिपा निर्वाचित भएका हुन् ।

यो पटक पनि नेमकिपाबाट मेयर–उपमेयर दुवैजना दोहरिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार