ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना कुमारी बैङ्कको क्युआर कोडमार्फत तिर्न सकिने

काठमाडौँ उपत्यकामा ट्राफिक जरिवाना क्युआर कोडमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एन्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो । कुमारी बैङ्क लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैङ्कका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गरे ।
उक्त सेवा प्रारम्भ भएसँगै ट्राफिक प्रहरी कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना कुमारीको क्युआर प्रणालीबाट सिधै भुक्तानी गर्न सकिने छ । बैङ्किङ विभागका प्रमुख अनिश ताम्राकारले  डाइनामिक क्युआर प्रविधिबाट राजस्व सङ्कलन गर्ने प्रणालीको  सुरुवात एउटा नयाँ आयाम भएको बताएका छन् ।
ताम्राकारले समयको परिवर्तनसँगै प्रविधिमैत्री सेवा विस्तार गर्न कुमारी बैङ्क सदैव अगाडि बढिरहने कुरामा जोड दिए  ।  ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्न साथ रकम सहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सिधै भुक्तानी गर्न सकिने उनले  जानकारी दिएका छन् ।  यस्तै  कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैकमा रहेको खाताबाट क्युआर स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताएका छन् ।
उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैङ्क खोज्न भौँतारिनुपर्ने वा नगद पैसा बोकेर बैङ्कमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज  जोशीले बताए।   उनले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँ नयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उल्लेख गरेका छन् ।
कुमारी बैङ्कले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार