ओलीको निर्देशन : प्रतिनिधिसभा विघटन भूलचुकले पनि गलत थियो नभन्नू

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई आग्रह गरेका छन् ।

केन्द्रीय सल्लाहकार परिषदको बैठकमा सम्बोधन गर्दै उनले विघटन जायज भएकाले भुलचुकले पनि त्यसो नभन्न निर्देशन दिएका हुन् । प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको उनको दाबी थियो ।

‘केही केही साथीहरूले यस्सो मौका पर्‍या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ,’ उनले भने, ‘यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्न आग्रह गर्दछु । वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौं ।’

एमालेका नेता भीम रावल, घनश्याम भुसालहरुले प्रतिनिधिसभा विघटन गलत भएको सार्वजनिक रुपमै बताउँदै आएका छन् । प्रतिनिधिसभा विघटन गरी ठीक निर्णय नलिएको भए प्रचण्ड र माधवकुमार नेपालको व्यक्तिगत र पारिवारिक इच्छापूर्तिमा लागेर एमाले समाप्त हुने थियो भन्ने ओलीको भनाइ थियो । ‘त्यसो भएर हामी ठीक निर्णयका साथ ठीक समयमा ठीक ढंगले अगाडि बढेका छौं,’ उनले भने ।

ओलीले एमाले र माओवादी केन्द्रबीचको एकता आफ्नो चाहनामा भएको दाबी गरे । ‘कम्युनिस्टहरुको एकता एकीकरण कुनै बाध्यता थिएन । तर, मेरो च्वाइस थियो’ अध्यक्ष ओलीले भने, ‘धेरै कोशिस गरेँ मैले एकता जोगाउनलाई तर, सम्भव भएन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार