गठबन्धन देश र जनताको आवश्यकता हो : माओवादी नेता शर्मा

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। नेताहरु गाउँ प्रवेश गर्न थालेका छन् । राजनीतिक दलका कार्यक्रमहरु पनि गाउँ केन्द्रित हुन थालेका छन् । यता राष्ट्रिय राजनीतिमा भने नेताहरु एकदलबाट अर्को दल प्रवेश गर्ने देखि लिएर चुनावी तालमेलको विषयले चर्चा पाएको छ ।यो स्थानीय चुनावमा सत्तागठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच कडा टक्कर हुने लगभग निश्चित भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी जसपा, राष्ट्रिय जनमोर्चा गरी ५ दलीय गठबन्धनले चुनावी तालमेलको आधार समेत टुंगो लगाएको छ। अर्कोतिर, नेकपा एमालेले पनि राप्रपा नेपाल र नेपाल परिवार दलसँग तालमेलको सहमति गरेको छ।
पाँच दलीय गठबन्धनले चुनावमा तालमेल गर्ने निर्णय गरिसकेको भए पनि उम्मेदवार टुंगो लगाएका छैनन्। ठोस रुपमा कुन दलको तर्फबाट कहाँ को उम्मेदवार बन्छ भन्ने स्पष्ट हुन सकेको छैन। यस्तो अवस्थामा सत्ता गठबन्धनको एक प्रमुख घटक माओवादी केन्द्रले कस्तो तयारी गरेको छ ?, माओवादीको दाबी कुनकुन ठाउँमा हो ? जस्ता विषयहरुको पेरीफेरीमा रहेर माओवादी केन्द्रका नेता दिनानाथ शर्मासँग गरिएको कुराकानीको सम्पादीत अंश:

 

१) आसन्न स्थानीय तहको निर्वाचनको तयारी कसरी गर्नु भएको छ ?
नेकपा माओवादी केन्द्र अहिले चुनावी केन्द्रित प्रचारप्रसारमा व्यस्त छ । संगठन मजबुत बनाउनैमा हामी केन्द्रीत छौं । त्यो बाहेक शिक्षा, स्वास्थ्य, रोजगारी र विकास हाम्रा मुख्य चुनावी एजेन्डा हुन । सुशासन अर्को महत्वपूर्ण एजेण्डा हो । यी नै विषयहरु लिएर जनतामा जान्छौ । स्वास्थ्य जनताको अधिकारको कुरा हो । संविधानले नै ग्यारेन्टी गरेका अधिकार जनताले पाउनु पर्छ । त्यसका साथै रोजगारी पनि अहिले नेपालको अर्को महत्वपूर्ण आवश्यकता हो । युवाहरु विदेश पलायन हुँदा देशको विकासमा असर परेको छ । देशमा रहेका केहि समुदायका मुद्धा र अधिकारका विषयमा पनि कुरा उठाउनु छ । किसान आदिवासीका लागि अधिकार र कानुन प्राप्त छैन । केहि अधुरा कामहरु छन् । ती सबै कामहरु गर्नका लागि माओवादी केन्द्र एक मात्र विकल्प हो । त्यो हाम्रा दायित्व पनि हो । हामी त्यसका लागि नै निर्वाचनमा जाने हो । यी कुराहरु जनतामा समक्ष पुर्याउन अहिले लागि परेका छौं ।अहिले स्थानीय तहको निर्वाचन हिजोको नगरपञ्यात जस्तो होइन । अहिले स्थानीय निकायलाई प्रशासनिक र व्यवस्थापकीय दुबै अधकिार छ। स्थानीय तहहरु अधिकार सम्पन्न छन् । त्यसै प्रकारको अधिकार प्राप्त गरि जनताको सेवा गर्ने मान्छेलाई अघि बढाउने प्रयास गरिरहेका छौँ । त्यसबाहेक चुनाव प्रचारप्रसारमा व्यस्तमा छौं । यता गठबन्धन भित्र चुनावी तालमेल र भागभण्डाको विषयमा छलफल चलिरहेको छ ।

२) काँग्रेस दोस्रो तहका केहि नेताहरुले गठबन्धन हाम्रो इच्छा होइन भन्दै हिड्नु भाको छ तर तपाईहरुले गठबन्धन गर्ने भनिरहनु भएको छ ? तपाईहरुलाई किन गठबन्धन गर्न परेको ?
गठबन्धन जनता र राष्ट्रको आवश्यकता हो । लोकतन्त्र रक्षाका लागि गठबन्धन आवश्यकता छ । सत्तापक्ष र प्रतिपक्षले गठबन्धनका लागि नै तयारी गरेका छन् । अझ प्रमुख प्रतिपक्ष एमालेले त राजावादी शक्तिहरुसँग गठबन्धन गरिरहेको छ । हाम्रो चाँही लोकतान्त्रिक शक्तिहरुको गठबन्धन हो । सत्ता गठबन्धका सबै दल परिवर्तनका बाहक हुन । नेपाली काँग्रेस २००७ र ०४६ परिवर्तनको नेतृत्व गर्यो भने ०६२ को परिवर्तन हामीले गयौं । यसरी दुई ठूला परिवर्तनका बाहक शक्तिहरु बीचको तालमेल नितान्त औपाचारिक छ । र आवश्यक पनि हो । एमाले चाँहि हिजो पनि परिवर्तनका पक्षमा थिएन र आज पनि परिवर्तनका पक्षमा छैन । यो इतिहासले पुष्टि गरेको कुरा हो । प्रदेश र संघको निर्वाच सम्म नै हामीले गठबन्धन गर्छौ ।

३) काँग्रेसका केहि स्थानीय नेताहरुले गठबन्धन नमान्ने भनेर घोषणा गरिसकेका छन् । कुनै कुनै स्थानीय तहमा त गठबन्धन भए बागी उम्मेद्वार उठाउने कुरा पनि छ । यस्तो अवस्थामा तपाईहरुलाई गठबन्धन भित्र नै अन्तरघात हुनसक्ने जोखिम छ नि त ? कसरी लिनु भएको छ ?
राजनीतिमा नैतिकता र इमानदारिता भन्ने हुन्छ ।काँग्रेस जस्तो देशको जिम्मेवार पार्टी जो लोकतन्त्रका लागि लडेर आएको पार्टी हो । त्यसका कार्यकर्ताले पनि त्यसको जिम्मेवारी लिन सक्नु हुन्छ जस्तो लाग्छ । तर काँग्रेस भित्र टिकट नपाए आफ्नै नेताहरुलाई घात गर्ने प्रचलन छ । त्यसको जोखिम त छँदै छ । तर त्यस प्रकारको चिन्तन र अवसरवादले कसैलाई फाइदा गर्दैन । त्यसको फाइदा तेस्रो पक्षले लिन्छ । यो विषयमा तल्लो तहका कार्यकर्ताहरु पनि सचेत छन् । के नैतिक के अनैतिकता भन्ने कुरा जनताले बुझिसकेका छन् ।पार्टीका कार्यकर्ताहरु पार्टीको निर्देशन भन्दा बाहिर जान्छन् जस्तो लाग्दैन । केहि अवसरवादीहरुले त्यसो गर्नु फरक कुरा हो ।

४) २०६४ सालको निर्वाचनमा त्यतिका जनताको विश्वास प्राप्त गरेको, झण्डै दुई तिहाई नजिकको बहुमत प्राप्त गरेको पार्टी माओवादी केन्द्रलाई अहिलेको निर्वाचनमा अरुको बैशाखी टेक्ने अवस्था कसरी आयो ?
कसैले कसैको बैशाखी टेकेको होइन ।चुनावी तालमेल भनेको एकअर्काको भरोसा हो । चुनावमा गठबन्धन हुनु अन्तराष्ट्रिय अभ्यास हो । लोकतान्त्रि प्रणली भएको देशमा यो आवश्यक हो । यसलाई अन्याथा लिनु हुँदैन । अर्को कुरा परिवर्तन वाहक नेकपा माओवादी हो । माओवादी कम्जोर भएको साँचो हो । हाम्रै कारणले हामी कम्जोर भएका हौँ । अव यस पटक जनताहरुले हामीलाई मत दिएर मजबुत बनाउँछन् । हामीले महिला, दलित, जनताजातिका लागि धेरै काम गरेका छौ । जनताका लागि धेरै काम गरेका छौ । उनीहरुको मतले हामी फेरि मजबुत हुन्छौं । राजनीतिमा कहिले माथि कहिले तल भइन्छ । अहिले मत पाउँछौ भन्ने विश्वास छ ।

५) पार्टी अध्यक्ष प्रचण्ड काँग्रेससँग प्रतिस्पर्धा गर्ने अवस्था पनि आउन सक्छ भन्दै हिड्नु भएको छ । त्यो भन्या चाँहि एमाले सँग मिलेर काँग्रेससँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्या हो ?
एमालेसँग मिल्ने भनेको होइन । गठबन्धन भित्रै तालमेल हुन्छ । कुरा मिलेन भने पनि हामी स्वच्छ प्रतिस्पर्धा गर्छौ । अथवा कुरा मिल्ने हरु विच तालमेल हुन्छ । तर एमालेसँग यो चुनावमा तामेल हुँदैन । भोलिका दिनहरुमा एमालेसँगको चुनावी तालमेल वा एकताको सम्भावना लाई अस्वीकार गर्न सकिदैन । अहिले तत्काललाई एकता वा तालमेलको सम्भावना शून्य छ ।

६) ०७४ सालमा जस्तो स्थानीय निर्वाचनमा काँग्रेससँग गठबन्धन, फेरि संघीय निर्वाचनमा एमालेसँग गठबन्धन हुने त होइन ?
अहिले त्यसो नहोला ।काँग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले नै संघको निर्वाचनसम्म गठबन्धन कायम हुने प्रतिवद्धता जनाउनु भएको छ । हामी मिल्छौ । मन मुटावका कुराहरुमा छलफल गरेका अगाडि बढ्छौं । चुनावसम्मका लागि मात्रै होइन भोलिका दिनसम्म नै गठबन्धन अगाडी बढाउँछौ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार