अझै सकिएकै छैन धरहराको ४० प्रतिशत काम

ओली चढ्न हतार गरेर राखिएको लिफ्ट फेरि खोलेर फिटिङ गरिँदै

बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो । टुप्पोमा सुनको गजुर सजिएको छ । २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ । धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ । ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन् । तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन । बाहिरबाट सिंगो रुप देखिएको धरहराको अझै धेरै काम गर्न बाँकी छ । काम नसकिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ‘धरहरा बनिसक्यो’ भनेर उद्घाटन गरेका थिए । तर धरहराको ६० प्रतिशत मात्रै काम सकिएको छ । धरहराको पूरा काम सकिन अझै १ वर्ष पर्खनुपर्छ । कोभिडका कारण काम रोकियो भने अझै बढी समय लाग्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको काम नसकिँदै उद्घाटन गर्न हतारो गरेपछि ठेकेदार कम्पनीले बाहिरी बनावटको काम मात्रै सकेको थियो । दुईवटा लिफ्ट जडान र बाहिरी रुप तयार पारेपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए । तर २२ तले धरहरामा चढ्ने भर्‍याङ अझै बनिसकेको छैन । ठेकेदार कम्पनीले सिढी बनाउने काम बल्ल सुरु गरेको छ ।

प्रधानमन्त्रीलाई उद्घाटन गर्न हतार भएपछि ठेकेदार कम्पनीले काम नसकिँदै लिफ्ट जडान गरेको थियो । २० औं तलासम्म पुग्ने भर्‍याङ (सिढी) बनाउन समय लाग्ने भएपछि लिफ्ट जडान गरिएको थियो । तर राम्रोसँग लिफ्ट नराखिएका कारण फेरि खोेलेर फिटिङ गर्ने कार्य भइरहेको छ । हतारमा बाहिरी र माथिल्लो तलाको मात्रै काम सकाउँदा अन्य काम गर्न कठिन परेको धरहरा पुनर्निर्माणमा खटिएका कामदार बताउँछन् । उनीहरूले माथिल्लो तलाकै भित्री काम धेरै बाँकी रहेको अवस्थामा उद्घाटन गरिएको बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Loading...