कञ्चनपुरको लालझाडीमा पाँच दर्जन कार्यकर्ता माओवादीमा प्रवेश, बिना मगरद्वारा स्वागत

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) का ६० जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । लालझाडी गाउँपालिकाको बिस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी ६० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नवआगन्तुक नेता कार्यकर्तालाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य बिना मगरले र प्रदेश सांसद तथा माओवादी केन्द्रका कञ्चनपुर जिल्ला इञ्चार्ज देवीलाल चौधरीले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता शारदा रानाको नेतृत्वको टोली प्रवेश गरेको हो ।

माओवादी केन्द्रको विस्तारित बैठकका सन्दर्भमा आयोजित कार्यक्रममा गाउँपालिकामा प्रभाव राख्ने स्थानीय नेताहरु माओवादीमा प्रवेश गरेका हुन् । कार्यक्रमलाई पूर्वमन्त्री मगर र जिल्ला इञ्चार्ज चौधरीका साथै लालझाडी गाउँपालिकाका सहइञ्चार्ज भक्त राना र अध्यक्ष मदबडायकले समेत सम्बोधन गरेका थिए ।

पार्टी प्रवेश गराउँदै कञ्चनपुर क्षेत्र नं. १ का सांसदसमेत रहेका पूर्वमन्त्री मगरले लोकतन्त्र, संविधान र समाजवादको पक्षमा उभिएर पार्टी प्रवेश गर्नेहरुलाई न्यायोचित जिम्मेवारी दिइने बताइन् । ‘तपाईहरुले संविधान र लोकतन्त्रको पक्षमा जुन प्रतिवद्धता देखाउनुभएको छ, यसको हाम्रो पार्टी उच्च सम्मान गर्दछ’  पूर्वमन्त्री मगरले भनिन्, ‘‘तपाईहरुलाई माओवादी केन्द्रमा न्यायोचित जिम्मेवारी दिइनेछ।’

पूर्वमन्त्री मगरले नेपालको कम्युनिष्ट आन्दोलन सफलताको चुचुरोमा पुगेर पनि प्रधानमन्त्री ओलीको गैरकम्युनिष्ट चिन्तन, प्रवृत्ति र कार्यशैलीका कारण धक्का खाएको बताइन् । उनले भनिन्, ‘नेपालको कम्युनिष्ट आन्दोलन सफलताको चुचुरोमा पुग्दै थियो । समाजवादको राम्रो आधार तयार हुँदै थियो । तर, नेकपाभित्रको एउटा शक्तिमा गैरकम्युनिष्ट चिन्तन, प्रवृत्ति र कार्यशैली देखा प-यो । त्यसकारण कम्युनिष्ट आन्दोलनमा धक्का लागेको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार