कोभिड संक्रमितहरुमा दीर्घकालीन समस्या देखा पर्न सक्छ -डा. शेरबहादुर पुन

अपवादबाहेक खोप लगाएकामा गम्भीर समस्या देखिएको छैन

काठमाडौं । नेपालमा पछिल्लो केहिदिन यता कोरोना भाइरसका संक्रमीतको संख्या निरन्तर ओरालो लागेको छ । निको हुनेको संख्या पनि निरन्तर बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । गत माघ ६ गते नेपालमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यस दिन २७ हजार ४९७ नमुना परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको थियो । तर त्यस यता कोरोना भाइरसको संक्रमणदर ओरालो लागेको छ । मन्त्रालयले हाल नेपालमा कोरोना भाइरसको संक्रमणदर ३५ दशमलव २ प्रतिशत रहेको बताएको छ ।

सन् २०२१ नोभेम्बरको अन्तिम साता दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन भेरिएन्ट विश्वभरी नै तिव्र गतिमा फैलिरहेको छ । नेपालमा भने गत पुस १९ गते ३ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको थियो । त्यस बेला नेपालमा दैनिक दुई सय हारहारीमा संक्रमित भेटिने गरेका थिए । त्यसयता नेपालमा कोरोना भाइरसको संक्रमणदर निरन्तर उकालो लागेको थियो । मन्त्रालयले कोरोना भाइरसका संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन संक्रमण रहेको बताइसकेको छ ।

करीब ३ वर्षदेखि विश्वव्यापी रूपमा कोरोनाभाइरसको बिगबिगी छ । तथ्याङ्क अनुसार नेपालमा करीब ८.५ लाख भन्दा धेरै मानिसलाई कोरोना संक्रमण भइसकेको छ । कोरोना भाइरस संक्रमण मुक्त भए पछि पनि यसले मानिसहरुलाई सताउने गरेको छ । कोरोना भाइरस संक्रमणमुक्त भएका मानिसहरुमा दुईमहिना सम्म पनि लक्षण देखिने गरेको छ । खास गरि कपाल झर्ने, छाती दुख्ने, मुटुमा असजिलो महसुस हुने जस्ता समस्या देखिने गरेको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् । डा. पुनसँग हामीले कोरोना भाइरसको संक्रमण र संक्रमण पछि देखिने दिर्घकालीन समस्याको विषयमा कुराकानी गरेका छौँ ।

पछिल्लो केहि दिन यता कोरोना भाइरसको संक्रमणदर निरन्तर ओरालो लागेको छ, के कोरोन महामारीको तेस्रो लहरको अन्त्य भएको संकेत हो त यो ?
यो स्वभाविक नै हो । उत्कर्समा लागेपछि संक्रमितको संख्या ओरालो लाग्ने नै भयो । अब यसको संक्रमण बढ्ने सम्भावना छैन । छिटो संक्रमण हुने, छोटो समयमा फैलने र छिटो नै निको हुने भएकाले संक्रमण छिटो फैलिएको थियो । तर अहिले पहिले जस्तो अबस्था छैन । अब संक्रमण तत्काल नै बढ्ला भन्ने अवस्था छैन । पहिलेका भेरिएन्टमा लक्षणहरु ढिलो देखिने र निको हुन पनि समय लाग्ने गथ्र्ये । तर अहिलेको संक्रमण त्यो भन्दा फरक छ । यी सबै कारणले गर्दा पुन सक्रमण उच्च विन्दुमा पुग्ने सम्भावना न्यून छ । ओमिक्रोन पहिलेको भन्दा कम्जोर छ । तर कमजोर छ भनेर हेलचेक्राइ गर्ने अवस्था चाँहि छैन ।

ओमिक्रोनले स्वास्थ्यमा कस्तो किसिमको असर पार्दछ ? बैज्ञानिक खोजले यसका बारेमा केके कुरा पत्ता लगाएको छ ? स्पष्ट पारीदिनुस न ?
ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको हो । त्यो बेलामा यो डेल्टा भेरिएन्ट भन्दा कमजोर देखिएको थियो । तर यसमा धेरै मात्रमा म्यूटेन्सन थियो । युरोप हुँदै अमेरिका हुँदै भारत र नेपालमा आयो । त्यो बेला बिरामीहरुमा टाउको दुख्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने जस्ता समस्याहरु देखिएका थिए । कोरोना भाइरसको ओमिक्रोन स्वरुप डेल्टा भेरिएनट भन्दा कमजोर देखियो । डेल्टा भेरिएन्टसँग तुलना गर्नुको कारण हालसम्म देखिएका “भेरिएन्ट अफ कन्सर्न“ अन्तर्गतका कोरोना भाइरसहरुमध्ये कडा मानिनु हो । डेल्टा भेरिएन्ट नेपालमा दोस्रो लहरको कारक पनि मानिन्छ । नेपालमा डेल्टाको लहरले दैनिक २४६ संक्रमितसम्मको मृत्यु भएको थियो । केही समय अगाडिसम्म ओमिक्रोन भेरिएन्टको बारेमा जानकारी लगभग शून्य नै थियो । विश्व स्वास्थ संगठनले यस भेरिएन्टले अन्य भेरिएन्ट अफ कन्सर्न पुनः संक्रमण गर्नसक्ने सम्भावना बढी रहेको जानकारी दिएको थियो । यो भेरिएन्टमा अत्यधिक म्युटेसन हुँदा प्रश्न, जिज्ञासा तथा केही मिथ्याहरु फैलन सुरु भइसकेको थियो । तुलनात्मक रुपमा डेल्टाको भन्दा यसको प्रभाव कमजोर नै देखियो । नेपालको सन्दर्भमा अहिले उत्कर्समा पुगेर कम हुँदै गएको छ । र यो अझै कम भएर जान्छ । तत्काल यस्को संक्रमण बढ्ने सम्भावना कम छ ।

अहिले त धेरैले खोप लगाइसके ?लगाउनेक्रममा पनि छन् । तेस्रो लहरको प्रभाव कम हुनु, त्यसैको प्रभावको रुपमा लिन सक्छौ ?
तेस्रो लहरको प्रभाव कम हुनुमा मैले तीन वटा कुरालाई अगाडी राख्ने गरेको छु । पहिलो –पहिलो कुरा त म्यूटेसन धेरै हुनु भनेको शरीर कम्जोर हुनुहोइन । ओमिक्रोनको म्युटेसन धेरै भए पनि यो भाइरसका तुलनात्क रुपमा अन्य स्वरुप भन्दा कमजोर देखियो । अनुसन्धान कर्ताहरुले श्वासप्रश्वास प्रक्रियामा असर गर्ने, घाटी भन्दा माथिल्लो भागमा सजिलै फैलिन सक्ने तर फोक्सोमा पुगीसके पछि यो कमजोर हुने बताएका छन् । दोस्रो –यो विचमा धेरै धेरैभन्दा धेरै मानिसहरु संक्रमित भइसकेको छन् । मानिसहरुले सावधानी अपनाए । पहिले भन्दा मानिसहरु बढी जानकार र सचेत पनि भए । तेस्रो– नेपालमा अधिकांश मानिसले खोप लगाए को छन् । करिब ७० प्रतिशत वयस्कहरुले खोप लगाइसकेका छन् । खोपको प्रभावले पनि तेस्रो लहरको संक्रमण घटेको हो ।

कतिपय व्यक्तिहरुमा खोप लगाउन हुँदैन ? यस्ले स्वास्थ्यमा असर गर्छ भनेर हल्ला छ ? कतिपयले त यहि हल्लालाइ सुनेर अझै पनि खोप लगाउनु भएको छैन ? के खोपले दिर्घकालीन रुपमा स्वास्थ्यमा असर गर्दछ त ?
यस्ता प्रकारका हल्लामा कुनै सत्यता छैन । यदि त्यस्तो हुन्थ्यो भने हामीलाई अहिले सम्म धेरै जानकारी भइसक्थ्यो । खोपको विषयमा डराउनु पर्ने अवस्था नै छैन । यसले दिर्घकालिन रुपमा असर गर्दैन । तर पनि अझै पनि कतिपय मानिसमा खोपको विषयमा लिएर द्धिविधा छ । तर निर्धक्क भएर खोप लगाउनु पर्दछ ।

कोरोना भाइरस संक्रमीतहरुलाई विभिन्न किसिमका दिर्घकालीन समस्याहरु देखा पर्छन भन्ने एक किसिमको हल्ला छ , हल्ला भए जस्तो गरी दिर्घकालीन रुपमा समस्या उत्पन्न हुने सम्भावना कत्तिको हुन्छ ?
ओमिक्रोनको हकमा अहिले नै यस्ता किसिम दिर्घकालिन समस्या देखिन्छन्,भन्न सक्ने अबस्था छैन । तर पोष्ट कोभिडको कुरा गर्दा तीन÷चार हप्ता सम्म लक्षण देखिने गरेको थिए । दुइ महिना पछि सम्म पनि श्वास फेर्न गाह्रो हुने, मुटुमा समस्या हुने,सुत्न नसक्ने, , स्मरण शक्ति कम्जोर हुने, कपाल झर्ने समस्या थियो । साथै बिरामी महसुस हुनु, पखाला लाग्नु, पेट दुख्नु, भोक नलाग्ने,उच्च तापक्रम, खोकी, टाउको दुख्ने, घाँटी दुख्ने, गन्ध वा स्वादमा परिवर्तन जस्ता समस्या देखिने गरेका छन् । दिर्घकालीन रुप गम्भीर प्रकारका समस्या भेटिएका छैनन् ।अमिक्रोनको हकमा चाँही अझै केहि हप्ता फर्किनु पर्ने अबस्था छ ।

रुघाखोकीको मौसम पनि हो ? अहिले धेरै जसो घरमा रुघाखोकीका विरामीहरु भेट्न सक्छौ ? कस्तो अबस्थामा कोभिडको सम्भावन हुन्छ ? र चेकअपको लागि अस्पताल जाने ?
यो समय नै रुघाखोकी जस्तो लक्षण देखिने समय हो । यत्तिकै रुघाखोकी र कोरोनाको लक्षण छुट्टाउन गाह्रो हुन्छ ।खास गरि एउटा गाउँ वा टोलमा संक्रमण फैलियो भने सबैले परीक्षण गर्दैनन् । तर सवधानी अपनाउनु पर्दछ । सबै ले एकै किसिमका लक्षण लिएर अस्पताल आउने गरेको पाइन्छ । जस्तै टाउको दुख्ने,नाकबाट पानी बग्ने, घाटी दुख्ने जस्ता लक्षण अहिले धेरैमा छन् । यी लक्षण रुघाखोकी र कोरोना दुवैमा मिल्छन् । तर रुघाखोकीको तुलनामा कोरोनाले अलि बढी दुख दिन्छ । अहिलेको अवस्थामा कोरोना परीक्षण गरि हाल्नु पर्ने अबस्था छैन । आफ्नो कार्यलयका वरिपरिका मान्छेमा कोरोना देखिएको छ भने साबधानी अपनाउनुस । स्वास्थ्यका मापदण्डहरु पालना गर्नुस । यसो गरे कोरोनाबाट बच्न सकिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार