नवनियुक्त महानिर्देशकको चर्चा कमाउने फण्डा विवादमा

सामाजिक संजालमा फोटो राख्दै भने कुकुर तिहार

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभारग्रहण गरेको हप्ता दिन बित्न नपाउँदै आलोचना सुरु भएको छ । अधिकारीले पदभार ग्रहण गर्दा लगाइएको मालाका कारण उनको आलोचना भएको हो । बिहिबार पदभार ग्रहण गर्दा उनलाई टाउको सम्म छोपीने गरी माला लगाइएको थियो । उक्त फोटो अहिले सामाजिक सञ्चालमा भाइरल भएको छ । उक्त फोटोलाई लिएर विभिन्न व्यक्तिहरुले उनको चर्को आलोचना गरेका छन् ।

उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष तथा बरिष्ठ अधिवक्ता ज्योति बानियाँले सामाजिक सञ्जालमा उक्त फोटो सेयर गर्दै बेमौसमी फूलको अभाव र कालोबजारी हुनेगरि नियुक्ति हुन थालेको भन्दै व्यङ्ग्य गरेका छन् । हरेक पद बिक्रिमा राखिदिएर सम्पर्क, पहुँच, शक्ति हुने बितिकै जे पनि निर्णय गर्नु देशको लागि राम्रो संकेत नभएको अधिवक्ता बानियाँले उल्लेख गरेका छन् ।

यस्तै नेपाली काँग्रेसका नेता लोकश ढकालले राजनीतिमा देखिने गरेको रोग कर्मचारी प्रशासनतन्त्रमा पनि सल्केको टिप्पणी गरेका छन् । उक्त फोटो सेयर गर्दै नेता ढकालले प्रशासनतन्त्रमा यस्तो कुसँस्कार रोक्न सरकारलाई आग्रह समेत गरेका छन् ।

 

यता बरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीले विश्व बिजय गरेर फर्केझैँ गर्धनले नधान्ने मालाका थुप्रो देखेर एक जनाले आज के तिहार हो भनेर प्रश्न गरेको व्यङ्ग्य गरेका छन् । उनले गरेको पोष्टमा धेरै जनाले कुकुर तिहारमा जस्तो माला लगाएको कमेन्ट गरेका छन् ।

यता नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार सामाजिक सञ्जालमा चर्को आलोचना भएको उक्त फोटो महानिर्देशक अधिकारीले आफै खिच्न लगाएका हुन । उनले आफ्नै खर्चमा उक्त माला खरिद गर्न लगाएका थिए । आफु भन्दा सिनियर ६ जना उपमहानिर्देशकलाई देखाउनको लागि उनले उक्त फोटो खिच्न लगाएको प्राधिकरण स्रोतले बताएको छ । महानिर्देशक अधिकारीले बिहिबार पदभार ग्रहण गर्दा उनलाई माला लगाइदिन पटक पटक विवादमा आएका र विभिन्न मुद्धामा नाम मुछिएका व्यक्तिहरु उपस्थित भएका थिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नागरिक उड्यन प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले प्राधिकरणका करीब आधा दर्जन उपमहानिर्देशकहरुलाई छोडेर अधिकारीलाई महानिर्देशक पदमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद् लगेका थिए ।

अधिकारी यस भन्दा पहिले पनि पटक पटक विवादमा आएका व्यक्ति हुन् । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकर्ता केन्द्रमा आर्थिक अनियमितता गरेको मुद्धा समेत परेको छ । अधिकारी राष्ट्रिय गौरवका आयोजना गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको योजना प्रमुख समेत भइसकेका छन् । योजना प्रमुखको रुपमा अधिकारी गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्यमा असफल समेत भइसकेका छन् । उनीमाथि सीमित ठेकदार कम्पनीसँग निकट रहेर काम गर्ने गरेको र मिलेमतो गरेर उनीहरुलाई ठेक्का दिने गरेको आरोप छ । विभिन्न समयमा विवादमा आए पनि उनी शक्ति केन्द्रहरुलाई आर्थिक प्रभावमा पारी उम्कने गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार