एफटीटीएच उपलब्ध नभएका सुगमका साथै अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डेटा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ ।
कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ । माघ ५ गते भएको सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्सका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।
फोरजी एलटीई नमस्ते वाईफाईमार्फत टेलिकमले हाल व्यक्तिगत र सरकारी संस्था गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडव्यान्ड बेसिक आठ सय रुपैयाँमा ६० जीबी ३० दिनका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरी, एक वर्षका लागि नौ हजा रुपैयाँमा ७२० जीबी प्याक पाइने टेलिकमले जनाएको छ ।
यसलाई प्रतिमहिना ६० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा चार सय रुपैयाँमा १५ दिनका लागि ६० जीबी प्याक लिन सकिने कम्पनीले जनाएको छ ।
होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १२ सय रुपैयाँमा १२० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुने बताइएको छ । त्यसैगरी एक वर्षका लागि १३ हजार पाँच सय रुपैयाँमा १४४० जीबी प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ । यसलाई प्रतिमहिना १२० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ६ सय रुपैयाँमा १५ दिनका लागि १२० जीबी प्याक लिन सकिने कम्पनीले जनाएको छ ।
सरकारी संस्था प्याकेजमा ३६ सय ५० रुपैयाँ र २१ सय रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध रहेको टेलिकमले जनाएको छ । यी प्याकेजबाट अनलिमिटेड डेटा चलाउन सकिने बताइएको छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।