जेलबाटै लागू औषधको कारोबार, १७ जना पक्राउ

प्रहरीले ठूलो परिणाममा नियन्त्रित लागु औषधसहित १७ जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरोले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ७ हजार एम्पुलसहित उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा सिन्धुलीका सङ्ग्राम मोक्तान, पञ्च स्याङतान, मोरङका सुरज सिंह ठकुरी लगायतका छन् ।

सिन्धुली कारागारमा रहेका गुड्ड गुप्ताले सोही कारागारमा रहेका नाइके सन्तोष स्याङतानलाई आर्थिक प्रलोभनमा पारि कारागारभित्रबाट शङ्कास्पद फोन गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दा लागू औषध गिरोहलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

उनले भारतबाट लागु औषध मगाउने र उनीसँगै कारागारमा रहेका अर्का व्यक्तिमार्फत काठमाडौँमा ‘सप्लाई’ हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक हृदय थापाले बताए । गुड्ड गुप्ताले बिक्रीबाट प्राप्त हुने पैसा निश्चित व्यक्ति तथा कारागारका कार्यालय सहयोगी रिता सारुमगर लगायतको नाममा पनि पठाउने गरेको खुलेको उनले जानकारी दिएका छन् ।

पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार