गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन तीन दलको माग

प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् । बिहीबार दिउँसो ३ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर उनीहरुले प्रदेश अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु विशेष अधिवेशन आह्वानको निर्णय गरी प्रदेश प्रमुखलाई भेट्न गएका छन् ।

गण्डकी प्रदेश सरकार विरूद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने भएपछि एकाएक संसद अधिवेशन अन्त्य भएको थियो । गत चैत २५ गतेदेखि शुरु भएको संसदको विधान अधिवेशन वैशाख ५ गते बस्ने गरी स्थगित भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भएपछि सरकारले संसद अधिवेसन अन्त्य गरिदिएको हो।

बिहीबार संसद् सचिवालयमा १ बजेर ३५ मिनेटमा २८ जना सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वास प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव तयार पारिएको हो । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।

प्रदेश अधिवेशन अन्त्य गरेपनि २५ प्रतिशत सांसदले माग गरे पुनः अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार