सांसद रावल बसेको घरमा ढुंगा प्रहार, बैठकमार्फत गराए गृहमन्त्रीको ध्यानाकर्षण

नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगा प्रहार भएका बताएका छन् ।

सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री बदलको ध्यानाकर्षण गराएका छन् । बुधबार राति पटकपटक ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई बोलाउँदा नआएको उनको दाबी छ ।

‘म बसेको घरमा बुधबार राति १२ बजेतिर ५/१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा फोन उठेन,’ रावलले गृहमन्त्रीलाई घटनाबारे समिति बैठकमा जानकारी गराउँदै भने । कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गर्दा मात्रै उठेको उनले बताए । घटनाको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलको भनाइ थियो ।

कसलाई लक्षित गरेर राति ढुंगा ढोकामा प्रहर भएको हो भन्नेबारे छानबिन गर्न रावलले गृहका अधिकारीलाई आग्रह गरेका छन् । उनले प्रहरीले राति फोन नउठाउने विषयलाई पनि गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार