घरको छानो फेरिने कहिले हो ?

एउटा गोठजस्तो आधा भागमात्र भएको घर । घरको छानोपट्टिको भाग छैन। ढुंगाका गारो पनि हार नमिलेको मकैको दानाजस्तै। आधा भागमात्र भए पनि पालले छोपिएको छ । घरको सिकुवामा कुकुर छ । घर चुहिन थालेसँगै मान्छेले घर छाड्यो तर कुकुर भने त्यहीँ छ ।

ताप्लेजुङ, फक्ताङ्लुङ गाउँपालिका-४ खानी गाउँका पूर्णबहादुर तामाङको त्यो घर पनि गत वर्ष बर्खे झरीले भत्काएको थियो । उनी अहिले अरूको बनाएका घरमा शरण लिएर बसेका छन् । छयहत्तर वर्षीय पूर्णका धेरै वर्ष फेरिए,  कपाल सेताम्य भयो तर अहिलेसम्म घरको छानो फेरिएको छैन । अर्थाभावका कारण उनले अहिलेसम्म खरको छानो फेर्न सकेका छैनन् ।

उनी पुर्खाका पालादेखि नै खरले छाएको घरमा बस्दै आएका हुन् । दश वर्ष अगाडि खानी गाउँमा सबै एक प्रकारको घर थियो– खरले छाएको ।विस्तारै केही पैसा हुनेले घरको छाना फेर्दै गए। केही विपन्न परिवारको भने अहिले पनि उस्तै छ । अरूको घरको छानो हेर्दै मन अमिलो बनाएर बस्नुपर्ने तामाङले सुनाए ।

उनले भने, ‘सबै टिनले छाएको घरमा बस्दा आफू खरले छाएको र त्यसमा पनि झरी पर्दा चुहिने घरमा बस्नुपर्दा आफ्नै भाग्यलाई दोष दिन्छु।’

सोही गाउँकी सुनमाया तामाङको पनि व्यथा उस्तै छ ।  उनको आफ्नै आँखाले छिमेकीको घर छाउन नसकेर ढलेको देखेको छ। आफ्नो पनि घर भत्किएला कि भन्ने चिन्ताले उनलाई घरिघरि पोलिरहन्छ ।

अहिले गाउँघरमा अन्नबाली घर भित्र्याइसकिएको छ । फुर्सदिलो यस समयमा गाउँघरमा घर बनाउन तथा  छानो छाउन खर जुटाउने र छाउने समय हो ।

गत वर्ष नै स्थानीय तहहरूबाट खरको छानामुक्त बनाइदिने भनी प्राविधिक आएर घरको चार कुना नापजाँच गरेका थिए । सुनमायाको घरको छानो गत वर्ष नै छाउनुपर्ने थियो ।

उनले घर छाउनका लागि खर काट्न तयारी गर्दागर्दै स्थानीय तहबाट प्राविधिक आएर चार कुन नापजाँच गरे। खरले छाएका घरमा जस्ताको पाता दिइने भएपछि उनको खुसीको सीमा नै रहेन। त्यो खुसी धेरै समय रहेन। गत वर्ष नै नापजाँच गरिए पनि अहिलेसम्म जस्ताको पाता नपाउँदा उनमा निराशा छाएको छ ।

उनले भने, ‘गाउँपालिकादेखि आएका  प्राविधिकले अर्को चरणमा आउँछ भनेपछि आशा गरेर बसेका छौं । दिने नदिने थाहा छैन । नदिने भए खर जुटाएर भए पनि छाना छाउनैपर्‍यो। चुहिने घरमा त बस्न सकिन्न ।’

सिदिङ्वा गाउँपालिका-४ साब्लाखु निवासी खोमनाथ खड्काका मुहारमा पनि आजभोलि खुसीका रेखा देखिन छाडेको छ । जाडो मौसम सुरू भएको छ। घरको छाना मक्किएर झरिसक्यो। छानो उदाङ्गो हुँदै छ। अझ हावाहुरीको समय आउँदै छ। त्यसैको पिरले खड्कामा खुसी हराउँदै गएको छ। गत वर्ष नै जस्ताको पाता दिने भनेर घर नापजाँच गरिए पनि दुई वर्ष बित्न लाग्दा अहिलेसम्म जस्ताको पाता नपाउँदा आफूलाई दुःख लागेको उनले सुनाए।

पूर्णबहादुर, सुनमाया र खोमनाथ मात्र नभई जिल्लाका एक हजार ८७४ घरपरिवारको व्यथा उस्तै छ। अर्थाभावका कारण खरको छानामुनि बस्न बाध्य भएका एक हजार ८७४ परिवारको घरका छाना छाउन सहरी विकास तथा भवन निर्माण विभागको नयाँ जस्तापाताको छाना लगाउने कार्यक्रममार्फत गत वर्ष नै नापचाँच गरिएको छ। त्यसैको आसमा बसेका परिवार अहिले दोधारमा छन्। जस्तापाता पाइएला भनी बसेका उनीहरूमा निक्कै छट्पटीसमेत सिर्जना भएको छ। खर काटेर घरको छानो छाउन थालौं भने घर नापजाँच गरिएकाले जस्तापाता पाइहालिन्छ कि भन्ने आशा पनि तिनलाई छ।

Loading...