एसएसपी यादव मृत्यु प्रकरण : कारबाहीको तयारी भइरहेको बेला आत्महत्या

प्रहरी प्रधान कार्यालयले कारबाहीको तयारी गर्दैगर्दा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोषकुमार यादवले आत्महत्या गरेको पाइएको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिएको भन्दै एसएसपीलाई कारबाहीको तयारी भइरहेको बेला यादव शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका छन् ।

संघीय इकाई कार्यालय भैरहवामा कार्यरत उनी सरकारी क्वाटरमा झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले मृत्युको कारण बारे अनुसन्धान थालिरहेको जनाएको छ । २०६४ माघ २९ गते बुटवलका ६२ वर्षीय टिकाराम अर्यालको अपहरणमा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको भन्दै यादवमाथि कारबाहीको माग गरिएको थियो । त्यसपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

मुद्दाका विषयमा गठन भएको छानबिन समितिले यादवसहित १५ जना प्रहरी अधिकारीलाई कारबाहीको सिफारिस गरेको बताइएको छ ।

अपहरणकारीलाई उन्मुक्ति दिने काममा प्रहरीको संलग्नता रहेको ठहर गर्दै यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले घटनामा २० प्रहरीको संलग्नता रहेको ठहरसहित कारबाहीको सिफारिस गरेको थियो । २० जनामध्ये पाँचजनाले अवकाश पाइसकेका छन् ।

टण्डनलाई उन्मुक्ति दिने काममा पूर्व प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली, तत्कालीन प्रहरी नायब उपरीक्षक जगतमान श्रेष्ठ, प्रहरी निरीक्षक नवीन क्षेत्री, तत्कालीन प्रहरी निरीक्षक सोमबहादुर थापा र डिएसपी राजकुमार बैदवारले अवकाश पाइसकेका छन् । टण्डनलाई उन्मुक्ति दिने बेला ज्ञवाली डिएसपीमा बहाल थिए ।

त्यस्तै छानबिन समितिले वरिष्ठ प्रहरी उपरीक्षक कृष्णकुमार महत, प्रहरी उपरीक्षकहरू दानबहादुर कार्की, दिनेशकुमार आचार्य, दिलीप घिमिरे, महेन्द्र खड्का, मुकुन्द मरासिनीलाई कारबाहीको सिफारिस गरेको थियो भने डिएसपीहरू पवनकुमार भट्टराई, केशव भट्टराई, डिलबहादुर मल्ल, भीमलाल भट्टराई, प्रतीतसिंह राठौरलगायतलाई स्पष्टीकरण सोधिएको थियो ।

यादव झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले पत्रकारलाई घटनास्थलमा प्रवेश निषेध गरेको थियो । गाडी चालकलाई गाडी मर्मतको लागि पठाएका यादव ढोका बन्द गरी कोठाभित्र पसेको र लामो समयसम्म नफर्किएपछि हेर्दा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

२०४९ सालमा सेवा प्रवेश गरेका यादव ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश पाउन लागेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भास्कर चन्दले प्रारम्भिक अनुसन्धानमा आत्महत्या नै देखिएको र यसको कारणबारे भने अनुसन्धानपछि मात्रै भन्न सकिने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार