सर्वोच्च प्रशासनले कानुन व्यवसायीलाई भन्यो- अदालत परिसरमा नाराबाजी नगर्नू

धानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सर्वोच्च अदालत प्रशासनमार्फत आन्दोलनरत कानून व्यवसायीहरुलाई सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न चेतावनी दिएका छन् ।

प्रधानन्यायाधीश जबराको निर्देशन भन्दै सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई फोन गरेर प्रदर्शन र नाराबाजी नगर्न भनेको हो ।

सर्वोच्चले भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने उनले बताए ।

‘मलाई सर्वोच्च अदालत प्रशासनबाट हिजो फोन आएको थियो । उहाँहरुले सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन नगर्न र माइक प्रयोग नगर्न भन्नुभयो’ नेपाल बार एसोसिएसनका अध्यक्ष श्रेष्ठले भने, ‘अदालतको कामकारवाहीमा प्रभाव पर्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको निर्देशनमा उहाँहरुले हाम्रो प्रदर्शनमा अवरोध गर्न खोज्नुभएको होला । तर प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म हाम्रो कार्यक्रम यथावत रहन्छ ।’

सर्वोच्च अदालतमा झन्डै दुई महिनादेखि गतिरोध जारी रहेको छ । सर्वोच्चको गतिरोध अन्त गर्न सत्ता गठबन्धनले गृहकार्य सुरु गरे पनि सफल भएको छैन । न्यायपालिका सुधार आवश्यक रहेको भन्दै सर्वोच्च अदालतका १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बारले एक स्वरले राजीनामा माग्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार