केरा आयातमा रोक लगाउन माग

केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन् ।

उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु पर्ने र कृषि कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पु¥याउनुपर्ने माग पनि गरे । हाल भारतबाट आयातित केराको भन्सार मूल्य समय सापेक्ष नभएकाले त्यसलाई संशोधन गरिनुपर्ने र काँचो केराको मूल्य तथा चिस्यान केन्द्रमा पकाएको केराको मूल्यमा फरक भन्सार दर कायम हुनुपर्ने उनीहरूको सुझाव थियो ।

केरा महासङ्घ नेपाल, तदर्थ समिति अध्यक्ष विष्णुहरि पन्थले केरा आयातमा लगाउँदै आएको भन्सार दर कम्तीमा १५ प्रतिशत तथा अग्रिम आयाकर १० प्रतिशत कायम गरिनुपर्ने र केरालाई डम्पिङ गर्ने परिपाटी अन्त्य गरिनुपर्ने बताए । राष्ट्रिय किसान समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेतले नेपाली फर्मबाट बिलबिजक जारी गरी भन्सार र व्यापारीबीच हुने आर्थिक चलखेल तत्काल बन्द गर्नुपर्ने बताए ।

नेपाली किसानले प्रतिवर्ष १० लाख मेट्रिकटन केरा उत्पादन गर्ने गरेकामा छ लाख मेट्रिकटन अपुग छ । माग पूरा गर्न महासङ्घले सुकुम्बासी किसानलाई १५ लाख हेक्टर बगरको जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । राज्यले कृषिलाई विशिष्टिकरण तथा व्यवसायिकरणका आधारमा उत्पादन वृद्धि, कृषि उद्योग स्थापना, आयात न्यूनीकरण र प्रतिस्थापन गर्दै राष्ट्रलाई आत्मनिर्भर बनाउने नीति लिएको छ ।

Loading...