अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म हो, त्यसपछि के गर्ने छलफल भएको छैन : प्रधानमन्त्री देउवा

अझै एक पटक सभापति बन्न चाहेको बताउँदै महाधिवेशनमा आफूलाई सघाउन आग्रह

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गठबन्धन राष्ट्रिय सभाको चुनावसम्मका लागि मात्र भएको बताएका हुन् ।

त्यसपछि गठबन्धनलाई निरन्तरता दिने नदिने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको उनले बताए । ‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो । त्यसपछि गठबन्धनलाई निरन्तरता दिने नदिने भन्ने विषयमा छलफल भएको छैन ।’

राष्ट्रियसभाका २० सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । तीमध्ये १९ जनाका लागि आगामी माघ १२ गते निर्वाचन हुँदै छ । १ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

त्यस्तै देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताएका छन् । पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको पनि बताए ।

उनले भने, ‘म पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । म प्रधानमन्त्री पनि छु । यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु । त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु । तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु । एकपटक मलाई सहयोग गरिदिनुस् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार