मृतक भनिएका व्यक्ति नै हत्या आरोपी निस्किएपछि…

गत मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल गाईबाच्छा पाटीमा एक पुरुषको शव भेटियो ।

महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार अच्युतराज पाण्डेको घरमा बस्ने सुशील शर्माको कोठामा पहिचान नखुलेका पुरुषको शव जलेको अवस्थामा भेटिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीलाई मृतकको पहिचान खुलाउनै समस्या परेको थियो । शवको अनुहार समेत जलेको हुँदा अनुसन्धान गर्न जटिल भएको थियो । शरीरका अन्य भाग पनि जलेको अवस्थामा शव फेला परेको थियो ।

सुरुमा प्रहरीले सुशीलको कोठामा शव भेटिएकोले उनी नै मृतक भएको हुनसक्ने आशंका गरेको थियो । तर अनुसन्धानका क्रममा उनी जीवित नै भेटिएपछि प्रहरी थप आश्चर्यमा परेको थियो ।

प्रहरीका अनुसार शर्मामाथि सोधपुछ गर्ने क्रममा त्यहाँ बरामद भएको शव काभ्रे घर भएका ७६ वर्षीय टेपबहादुर भनिने हर्कबहादुर बानियाँको भएको खुलेको छ । र, उनको हत्यामा शर्माको संलग्नता पुष्टि भएको छ ।

खापुङका अनुसार वृद्धभत्ता पाउने भएकाले बानियाँसँग पैसा भइराख्थ्यो । गत मंसिर १ गते मलेसियाबाट फर्किएका भतिज पनि आएर उनीसँग भिडियो बनाएकाले अरु पैसा पनि हुनसक्ने आशंकामा शर्माले चोर्ने योजना बनाएका थिए । भतिजले काकालाई धेरै पैसा दिएको हुनुपर्छ भन्ने सुशीलले सोचेको र पैसाको लोभ भएपछि सुशिलले हर्कबहादुरलाई मंसिर ३ गते आफ्नो कोठामा लगेर जाँड खुवाएको र खाएको प्रहरीको भनाइ छ ।

राति हर्कबहादुर सुतेपछि सुशीलले खल्तीबाट पैसा निकाल्न खोजेका थिए । तर उनले थाहा पाए ।

त्यही विषयमा उनीहरूबीच विवाद सुरू भयो । सुशीलले हर्कबहादुरलाई हिर्काएर हत्या गरेको र घटनाबारे थाहा नहोस् भनेर त्यही रहेको कपडाहरुमा शवलाई जलाएको देखिएको खापुङ बताउँछन् । थप अनुसन्धान जारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार