राजधानीमा डान्सबारको कथा : जहाँ युवती देखाएर पैसा लुटिन्छ

राजधानीको रात्री जीवन रंगिन र रमाइलो बनाउने नाममा खुलेका अधिकांश डान्सबारहरू युवती देखाएर ग्राहक लुट्ने अखडा बनिरहेका छन् । हरेक रात डान्सबारले ग्राहकहरूलाई लुटेर सडकमा पु¥याईरहेको खबर बाहिर आउने गरेको छ ।

बाहिर तीस रुपैंया पर्ने एक बोतल कोकलाई डान्सबार भित्र चार सय रुपैंयाँ तिर्न लगाएर ग्राहकलाई लुट्ने गरिन्छ । यसो नाच हेरेर मनोरञ्जन लिन जाऊँ भन्नेहरु रित्तै फर्कनुपर्ने हुन्छ । डान्सबार भित्र छिरिसकेपछि कम्तिमा दश हजार रुपैंया एकैछिनमा सकिने गर्दछ ।

सबै डान्सबारको मूल्य मनपरी तोकिएको छ । मेन्यू हेर्दा लाग्छ– यो त हाकाहाकी ठग्नलाई खोलिएको हो । बाहिर २ सय ८० रुपियाँमा पाइने बियरलाई डान्सबारमा आठ सय रुपियाँसम्म पर्छ । ३५ रुपियाँमा पाइने एक गिलास कोकलाई तीन सयदेखि चार सय रुपियाँसम्म मूल्य तिर्नुपर्छ ।

एक त पैसाको सत्यनाश अर्कोतिर लफडा हुने डर । यस्तै छ राजधानीको डान्सबार । यसो मनोरञ्जन लिन जाऊँ भन्यो भने डान्सबार सञ्चालकले केटीहरुलाई अगाडि सारेर ग्राहकको पैसा धुत्ने काम गराउँछन् । यति धेरै विकृति हुँदा हुँदै प्रहरीहरु भने रमिते हेरेर बस्छन् । प्रहरीहरुसँग पहिले नै डान्सबार साहुको सेटिङ भईसक्छ । साहुले नै यसो अलि अलि पैसा दिएर प्रहरीहरुलाई मिलाउँछन् ।

राजधानीमा सञ्चालित अधिकांश डान्सबारहरूले खुल्लमखुल्ला ग्राहक लुटिरहेका छन् । ठगिरहेका छन् । प्रहरीलाई यो सबै कुरा थाहा छ तर केही गर्दैन । राजधानीको ठमेल, सुन्धारा, गोंगबु, गौशाला र चावहिलमा धेरै डान्सबारहरु छन् । त्यस्तै ललितपुरको सात दोबाटो, लगनखेल, ग्वार्को र बालकुमारी तिर पनि धेरै खुलेका छन् । यिनै ठाउँहरुमा ग्राहक लुटिएका खबरहरु धेरै आउने गरेको छ ।

यसो एउटा टेबुलमा गएर ड्रिङ्स लिऊँ भन्यो भने त्यहीँ नै केटीहरु झुम्मिएर पैसा स्वाहा पारिदिने गर्दछन् । केही दिनअघि गोंगबुको एउटा डान्सबारमा दुई युवा छिरेका थिए । यसो एक दुई वटा बियर लिएर नाचको मज्जा लिन उनीहरु के छिरेका थिए । आधा घण्टामै आईहाल्यो साढे ८ हजारको बिल । अनि डान्सबारबाट बाहिरिनु बाहेक उनीहरुसँग कुनै विकल्प थिएन । डान्सबारमा केटीहरुले बढी वाईन खाएर अधिकांश ग्राहकहरुको पैसा स्वाहा पार्ने गर्दछन् ।

ठमेलमा झन् बढी लुटिन्छन् ग्राहक । ग्राहकलाई मनोरञ्जन दिने नाममा साहुहरुले केटीहरुलाई अगाडि पारेर ग्राहक लुटिरहेका हुन्छन् । ठमेलमा भेटिएका एक जना सुरेश गुरुङ नाम बताउने दलालले भने, ‘केटी भनेपछि हुरुक्कै हुनेहरूलाई त मज्जाले उल्लु बनाउन सकिन्छ । डान्सबार पुर्‍याएर टेबलसम्म राखिदिने काम हाम्रो हो, त्यसपछि पैसा धेरै उठाउने काम केटीहरुको हो । हामीलाई त्यसपछि कुनै मतलब हुँदैन ।’ एकजना ग्राहक लगेबापत आफूलाई २५ देखि ३० प्रतिशतसम्म कमिसन आउने उनले बताए ।

ठमेलपछि ग्राहक धेरै लुटिने अर्को थलो हो गोंगबु । वैदेशिक रोजगारीमा दुबई जान लागेका पाल्पाका रमेश शर्मा दुई साथीसहित रमाइलो गर्न गोंगबुको कुनै एक डान्सबार पुगेका रहेछन् । युवतीहरूले सँगै बसेर खाइदिएपछि १६ हजार रुपियाँको बिल निस्किएछ । पैसा नभएपछि काउन्टरमा विवाद भइरहेको थियो । त्यत्तिकैमा पाँचजना युवा सँगै बाहिरिए । केही पर पुगेर ती ग्राहकसँग कुरा गर्न खोज्दा थाहा भयो– दुईजना त डान्सबारका मान्छे रहेछन् । पैसा उठाउनलाई उनीहरू ग्राहकका पछि लागेका रहेछन् । ‘डान्सबार भनेको त लफडा हुने ठाउँ पो रहेछ ।’ शर्माले भने, “यसो डान्सबारमा गएर मनोरञ्जन लिऊँ भनेको त लुट्नेहरु पो रहेछन् यहाँ त । अबदेखि कहिल्यै छिर्दिन ।”

केही डान्सबार डुल्दा थाहा भयो– नयाँ बसपार्कका अधिकांश डान्सबारको उद्देश्य त ग्राहक लुट्ने नै रहेछ । काभ्रेका रामबहादुर मगर कतार उड्नु एकदिन अघि ‘रमाइलो गरौँ न त’ भनेर नयाँ बसपार्कको एक डान्सबार छिरे । डान्सबार छिरिसकेपछि दुई चार बोतल बियर खाए । अनि बिल आयो ७ हजारको । बिल किन यति धेरै आयो भनेर काउन्टरमा सोध्न जाँदा काउन्टरमा बस्नेले तपाईले जति खाएको हो त्यति बिल आयो भनेर जवाफ फर्काए । त्यत्तिकैमा काउन्टरमा विवाद सुरु भयो । विवाद भएपछि लफडा हुन के खोजेको थियो बीचमै प्रहरी आईपुग्यो र थोरै डिस्काउन्ट दिएपछि रामबहादुर निराश हुँदै फर्किए ।

ग्राहकलाई नशामा डुबाएर पैसा धुत्ने योजना
डान्सबारमा जो कोही छिर्ने व्यक्तिलाई सबभन्दा पहिले नशामा डुबाउने योजना बुनिन्छ । यसो पैसा खर्च गर्ने लाग्यो भने उसका अघि पछि केटीहरु नै बस्छन् । केटीहरुले वाईन मगाउँछन् । खर्च गर्ने केटाहरुसँग मात्र केटीहरु बढी झुम्मिने गरेका हुन्छन् । जब केटा नशामा डुब्दै जान्छ उसको नाममा धेरै खानेहरु आउँछन् ।

अलि अलि लाग्न थालेपछि केटा पनि के कम केटीहरुको गाला मुसार्न थाल्छ र स्तन समात्न खोज्छ । त्यही मौकामा केटीहरुले उसलाई नशामा डुबाईरहेका हुन्छन् । ग्राहकलाई नशा चढेपछि केटीहरू फाइदा लुट्न थाल्छन् । जथाभावी खाइदिन्छन् । अन्तिममा ऊसँग बाट टन्नै पैसा झार्न लगाईन्छ । यस्तो खेल हुन्छ डान्सबार भित्र ।

प्रहरीका अनुसार डान्सबार लुटको मात्र होईन झगडाको पनि अखडा हो । डान्सबार भित्र काम गर्ने बाउन्सर र ग्राहकबीच झगडा भईरहेको हुन्छ भने कहिले काँही बाहिरबाट आउने केटाहरुको समूहबीच पनि झगडा भईरहेको हुन्छ । डान्सबार र ड्युटीमा खटिने प्रहरीबीच नै मिलेमतो हुन्छ । ठूलो घटना नभएसम्म डान्सबारमा हुने लफडाको विषयमा त माथिल्लो तहसम्म रिपोर्ट नै पुग्दैन, तल–तलै पैसा खाएर प्रहरीले मिलाइसकेका हुन्छन् ।

केही गर्दैन बरु आँखा चिम्लिन्छ प्रहरी
डान्सबारमा भइरहेको लुटपाट र लफडामाथि प्रहरीले खासै ध्यान नदिने गरेको स्वयं प्रहरीकै कर्मचारी बताउँछन् । डान्सबारमा दिनहुँ झगडा हुने थाहा हुँदाहुँदै पनि उनीहरू त्यसमा खासै गम्भीर हुँदैनन् । कतिपय डान्सबारले महिनावारी रकम दिएर प्रहरीलाई आफ्नो पकडमा राख्ने गरेको समेत प्रहरीमाथि आरोप लाग्ने गरेको छ । पक्राउ गरिहाले पनि गम्भीर घटनामा पनि सार्वजनिक मुद्दा चलाएर दोषीलाई छुटकारा दिने काम प्रहरीबाटै हुने गरेको पनि पीडित ग्राहकहरूको गुनासो छ ।

डान्सबारमा हुने झैझगडा र लफडाका मुद्दा प्रहरी कार्यालयसम्म नपुग्नु र ड्युटीमा खटिएको प्रहरीबाटै सूचना लुकाइनुले पनि यसमा प्रश्न उठाउने ठाउँ देखिन्छ । प्रहरीहरुकै लापरवाही र मिलेमतोले गर्दा डान्सबारमा धेरै विकृतिहरु देखिएका छन् । प्रहरीले पीडितलाई न्याय नदिंदा यस्तो विकृति मौलाउँदै गएको उनीहरु बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार