एकता गर्नुपर्ने आवश्यकता नरहेको भन्दै ओली भने अब नो एकीकरण

प्रचण्डसँग सजग रहन कांग्रेसलाई सुझाव

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले अब कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारेका छन् । बुधबार काठमाडौँमा युवा संघ अन्तर्गतको साइबर सर्कल घोषणा कार्यक्रममा ओलीले एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नरहेको भन्दै अरू पार्टीमा रहेकाहरू एमालेमा भने आउन सक्ने बताएका हुन् ।

उनले माधव नेपालसँग गएका नेताहरूलाई एमालेमा नै फर्कन पनि आग्रह गरेका छन् । अध्यक्ष ओलीले कांग्रेसको पुच्छर समातेर धेरै फुर्ती नलगाउन माधव नेपाललाई चुनौती दिएका छन् । उनले एमाले बिगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै सजग रहन कांग्रेसलाई सुझाव दिए ।

केहीले अदालतको फैसलाबाट जनमतलाई पराजित गरेको भ्रम पालेको भन्दै उनले जनताले जित्नेकी जनविरोधीहरूले जित्ने निर्णय हुन बाँकी रहेको तर्क गरे । उनले एमाले भनेको पार्टीको नाम मात्र नभएर नेपाली जनताको प्रतिनिधि शक्ति भएको दाबी गरे । अध्यक्ष ओलीले पाँच दल कै कारण अदालतमा समस्या देखिएको बताए । सर्वोच्च अदालतको विवादलाई क्यान्सरको संज्ञा दिँदै ओलीले उक्त विवाद सामान्य रूपमा साम्य नहुने बताए । त्यस्तै ओलीले माओवादी नेताले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै प्रचण्डप्रति कटाक्ष गरे ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले सञ्चार क्षेत्रमा वैदेशिक लगानीलाई सरकारले नै प्रोत्साहन गर्नु दुर्भाग्य भएको टिप्पणी गरे । युवा संघको यसअघिको ‘साइबर सेना’ को नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार